सागरबाट सफलतापूर्वक रकेट प्रक्षेपण



बेइजिङ, (एजेन्सी)

चीनले पहिलोपटक पानीमा तैरिरहेको प्लेटफर्मबाट अन्तरिक्षमा सफलतापूर्वक रकेट प्रक्षेपण गरेको छ। सानडोंग प्रान्तमा पित सागरमा एक चलायमान प्लेटफर्मबाट बुधबार अपरान्ह १२ः०६ बजे एक ‘लंग मार्च–११’ सलिड प्रोपेलेन्ट क्यारियर रकेटले उडान भरेको थियो।

चीनले समुद्रस्थित प्लेटफर्मबाट पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको हो र यो लंग मार्च क्यारियर रकेट सिरिजको ३ सय ६औं अभियान हो। समुद्रबाट रकेट लन्च गर्ने चीन तेस्रो देश हो। ऊभन्दा अगाडि अमेरिका र रुसले यो उपलब्धी हासिल गरेका थिए।

चीनले विगत केही वर्षमा अन्तरिक्ष प्रविधिमा अर्बौं डलर लगानी गरिरहेको छ। अब उसको लक्ष्य सन् २०३० सम्ममा महाशक्ति बन्नु रहेको छ।

लंग मार्च–११ सानो स्याटलाइटलाई अन्तरिक्ष लिएर जान सक्छ र एकै समयमा कयौं स्याटलाइटलाई कक्षमा स्थापित गर्न सक्छ। यस उडानमा रकेटले दुई प्राविधिक परीक्षण स्याटलाइट तथा ५ व्यापारिक स्याटलाइट लिएर उडान भरेको थियो।

समुद्रबाट लन्च गर्ने उद्योगका रूपमा कम झुकाव हुने स्याटलाइटको बढ्दो मागलाई पूरा गर्नेछ र चीनले बेल्ट एन्ड रोड परियोजनामा सहभागी हुने मित्र देशहरुका लागि प्रक्षेपण सेवा उपलब्ध गराइनेछ।–सिन्ह्वाले अन्तरिक्ष क्षेत्रका विशेषज्ञलाई उद्धृत गर्दै भनेको छ।

प्रतिक्रिया दिनुहोस्