खार्तोम हिंसामा साठी जना मारिए



खार्ताेम, (एजेन्सी)

सुडानको राजधानी खार्तोममा प्रजातन्त्रको माग गर्दै थालिएको आन्दोलन दबाउन चालिएको हिंसात्मक कारबाहीमा मारिनेको संख्या बढेर ६० पुगेको एक विपक्षी राजनीतिक समूहले बुधबार जनाएको छ। एक आशंकित अर्धसैनिक समूहका सदस्यहरूले सडकमा गस्ती गर्दै सर्वसाधारणमाथि आक्रमण गरिरहेको सञ्चारमाध्यमले जनाएको छ।

सोमबार निशस्त्र प्रदर्शनकारी समूहमाथि ट्रान्जिस्नल मिलिटरी काउन्सिल (टीएमसी) को फौजले अचानक गोली वर्षएपछि हिंसा शुरू भएको थियो। सेनाको यस कदमको अन्तर्राष्ट्रिय जगत्ले कडा शब्दमा भत्सर्ना गरेको छ।

खार्तोमका अधिकांश बासिन्दाले यस हिंसाका लागि र्यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई दोषी ठहराएका छन्। विगतमा जान्जाविद छापामारको नामले पनि चिनिने यस अर्धसैनिक फौजले सन् २००३ मा पश्चिमी सुडान डार्फरमा भएको द्वन्द्वमा कुख्याती कमाएको थियो।

यसै गरी मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा यस हिंसाको विरोध प्रयासलाई रसियाको समर्थनमा चीनले रोकेको थियो। लगातार ३० वर्षसम्म सत्तामा रहेका राष्ट्रपति ओमार अल बासिरलाई अपदस्थ गरिनु केही दिनअघि अर्थात् ६ अप्रिलदेखि प्रदर्शनकारीले सैनिक मुख्यालय बाहिरको चोकमा धर्ना दिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्