११ हजार केजी फोहोर संकलन



नेपाल समाचारपत्र, काठमाडौं
सगरमाथा सफाइबाट ११ हजार केजी फोहोर संकलन भएको छ। वैशाख १ बाट शुरू भएको सगरमाथा अभियान २०७६ बाट सड्ने र नसड्ने गरी ११ हजार केजी फोहोर संकलन भएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

सगरमाथाको बेस क्याम्प–१, क्याम्प–२, क्याम्प–३ र क्याम्प–४ हुँदै साउथकोलसम्मको फोहोर संकलन गरिएको थियो। सगरमाथामा सफाइबाट संकलन भएका ११ हजार केजी फोहोरमध्ये १ हजार केजी फोहोर भने हेलिकोप्टरबाट काठमाडौं ल्याएर व्यावस्थापनका लागि ब्लड ओस्ट टु भ्यालुलाई हस्तान्तरण गरिएको छ।

१० हजार फोहोर भने सड्ने भएकाले लुक्लामा नै व्यवस्थापन गरिएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताउनुभयो। फलाम, टिन, सिसाका बोटल, सिलिन्डरसहित १ हजार केजी फोहोर काठमाडौं ल्याई ब्लड ओस्ट टु भ्यालुलाई हस्तान्तरण गरेको छ।

फोहोर संकलनका क्रममा ४ थान शवसमेत फेला परेको र सो शवलाई कानुनी प्रक्रिया पूरा गरी शिक्षण अस्पतालमा हस्तान्तरण गरेको महानिर्देशक घिमिरेले बताउनुभयो। यस वर्ष फोहोर संकलनमा मौसमको प्रतिकूलताका कारणका बाबजुत पनि लक्ष्यभन्दा करिब ४ गुणा फेहोर संकलन गर्न सकिएको जनाइएको छ। यस वर्षमा करिब १५ हजार मानवीय फोहोर सो हाराहारीको परिणाममा केसेनको फोहोर र अन्य २२ सय केजी फोहोर व्यवस्थापन भएको बताइएको छ। सफाइ अभियानमा १२ जना शेर्पाले साउथ पोलमा बसेर फोहोर संकलन गरेका थिए।

आरोहीहरूको संख्यामा वृद्धि भएसँगै सगरमाथामा बढेर गएको फोहोर सफाइको काम गरिने भएको छ। पर्यटन विभागको सहकार्यमा नेपाल पर्यटन बोर्ड, खुम्बु गाउँपालिका, सुरक्षा निकायका ३ वटै अंग पर्वतारोहण संघको सहयोगमा सगरमाथा सफाइको काम गरेको थियो।

प्रतिक्रिया दिनुहोस्