सांगीतिक कार्यक्रममा रमाए लमजुङबासी



लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको मेरिगोल्ड सांस्कृतिक कार्यक्रममा लमजुङबासी रमाएर नाचेका छन्। बेंसीशहर नगरपालिका–११ चिती तिलाहारमा सञ्चालन गरिएको सांगीतिक कार्यक्रममा जिल्लाबासी रमाएका हुन्।

एपेक्स म्युजिक नेपालको आयोजना र न्यु मेरिगोल्ड बोर्डिङ स्कुलको सहकार्यमा आयोजित मेरिगोल्ड सांस्कृतिक कार्यक्रम–२०७६ मा लोकदोहोरी गायकगायिका प्रेम अर्याल, डिला विक, रबिन लामिछाने, टीका सानु, आरती खड्का र राजु केसीको प्रस्तुतिमा जिल्लाबासी रमाएर नाचे। साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति आकर्षक रहेको थियो। प्रकाश सपुतले गलबन्दी, गलबन्दी, सालैको पातैले र लमजुङ तिलार गीत गाउँदा दर्शक रमाएर नाचेका थिए।

त्यस्तै, स्थानीय कलाकार सुभाष भारद्वाजको शब्द संकलन रहेको लमजुङ तिलार उनैले गएको गीतमा पनि दर्शक नाचेका थिए। सोही विद्यालयका बालकलाकारले गरेको प्रस्तुति पनि दर्शकले मन पराएका थिए। कार्यक्रममा गरिब जेहनदार विद्यार्थीको शिक्षामा सहयोग गर्न मेरिगोल्ड अक्षयकोष स्थापना र जेष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियोे।

बेंसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालद्वारा शुभारम्भ गरिएको कार्यक्रममा राष्ट्रिय कलाकारले चितीको स्थानीय धार्मिक ऐतिहासिक र पर्यटकीयस्थलको बारेमा गीतमार्फत थप उजिल्याउने काम गरेका थिए।

समाज परिवर्तन र विकासको आधार सामाजिक कार्यमा लोकदोहोरी कलाकार भन्ने नारा दिएर गरिएको सांस्कृतिक सांगीतिक कार्यक्रमको मूल उद्देश्य निःस्वार्थ तरिकाले सामाजिक सेवामा जुट्नु रहेको कार्यक्रम संयोजक सुवास भारद्वाजले बताए।

प्रतिक्रिया दिनुहोस्