३ बर्षमा निर्माण गर्ने पुल ६ बर्षसम्म पनि सकिएन



धनवीर दाहाल,रुकुम ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम पुर्वको सिस्ने गाँउपालिकाको धौलापैरामा रहेको मोटरेल पुल निर्माण कार्य अलपत्र परेको छ ।

निर्माण कम्पनीले समयमै पुल निर्माण गर्न नसक्दा ठुलो बर्षातको बेला खोलामा बाढी आएपछि गाडी वारपार गर्न कठिन बन्दै गएको छ । निर्माण सुरु गरेको ६ बर्ष भइसकेको भएपनि हाल सम्म निर्माणको ५० प्रतिशत काम नभएको स्थानीयले बताएका छन् ।

निर्माणको जिम्मा लिएको याक्थुहाङ कम्पनीले ३ बर्षभित्रै काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । तर २ पटक म्याद थप्दा पनि निर्माण नभएपछि यस बर्षको बर्षातमा पनि जोखिम मोल्नुपर्ने बाध्यता कायमै हुने भएपनि स्थानीय चिन्तीत भएका छन् ।

रुकुम पुर्वको सिस्ने गाँउपालिका, भुमे गाँउपालिका, पुथाउत्तरगंगा गाँउपालिका तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिका लगाएतका बासिन्दाको दैनिक वारपार गर्ने सो क्षेत्रमा समयमा पुल निर्माण नहुँदा समस्या भएको हो ।
मध्यपहाडी लोकमार्ग पनि भएकोले समयमै पुल निर्माण गर्न स्थानीयले निर्माण कम्पनीसँग माग गरेका छन् ।

उता निर्माण कम्पनीका प्रतिनिधि टिका मोक्तानले भौगोलिक बिकटताका कारण सामान समयमै ल्याउन नसकिएकोले ढिला भएको भएपनि बर्षात अघि नै काम सम्पन्न गर्ने बताउनुभयो । ३ करोड ५० लाख रकममा सो पुल निर्माण भइरहेको छ ।

मोक्तानले भन्नुभयो “सकेसम्म हामी बर्षात अघि नै सक्छौं । सामान सबै आइसकेको छ तर लगातार पानी परिरहेकोले प्रकृतिसँग केही गर्न सकिँदैन ।”

प्रतिक्रिया दिनुहोस्