पर्वतमा सडक बिस्तार धमाधम, धुलो र हिलोको मारमा यात्रुहरु



नेपाल समाचारत्र, पर्वत ।
मध्यपहाडी लोकमार्गको रुपमा विस्तार भइरहेको पोखरा–बागलुङ सडक खण्डमा यात्रा गर्ने यात्रीहरु पानी पर्दा हिलो त घाम लाग्दा धुलो खेप्न बाध्य भएका छन्।

कास्कीको पोखराबाट पर्वतको मालढुंगासम्म एकै पट्क निर्माण कार्य चलिरहेको छ। दैनिक सयौँको सङ्ख्यामा लामो तथा छोटो दुरीका सवारी साधनहरु यो सडकमा हिँड्छन्। तर सुखले यात्रा गरेको कसैले पनि बताउँदैनन्।

स्तरबृद्धिको क्रममा रहेको पोखरा बागलुङ राजमार्गको अधिकांश भागमा घाम लाग्दा साथ अत्यधिक धुलो उडेर यात्री नै चिन्न नसक्ने अवस्थामा पुग्छन्। पानी परेको बेलामा सडक हिलाम्मे भएर सवारी नै जाममा पर्ने गरेका छन्।

घण्टौँसम्म पनि दलदले हिलोमा सवारी फस्दा २ घण्टामा आउजाउ गर्न सकिने पोखरा कुस्मा सडकको यात्रा पार गर्न १० घण्टासम्म लाग्ने गरेको छ।

सडक धुलाम्मे बन्दा दुर्घटनाको जोखिम पनि उत्तिकै मात्रामा बढेको छ। अगाडि पछाडिका सवारी साधनहरु नै नदेखिने गरी उड्ने धुलोका कारण दिनहुँ जसो सामान्य खालका दुर्घट्नाहरु भइरहेका हुन्छन्।

निर्माण कम्पनीहरुले सडकमा पानी छर्कनु परे सम्झौता छ, सोही अनुसार बिहानमा पानी छ्याप्ने गरेको भए पनि चर्को घामका कारण केहीबेरमै पानी सुकिहाल्छ, धुलो उडाई उही पुरानै लयमा फर्किहाल्छ।

मध्य पहाडी लोक मार्ग मात्र होइन सदरमुकाम कुस्मा बजारको कुस्मा नगरपालिकाभित्रको सडकको अवस्था पनि उस्तै छ। बजारभित्रको सडक अहिले स्तरोन्नतिको क्रममा रहेको छ। केही मात्रामा रहेका कालोपत्रे भत्काएर काम भइरहेको छ। यही कारण बजारभित्रै पनि यात्रा कष्टकर बनेको छ।

स्तरोन्नतिका लागि सडक भत्काउँदा सडकभरी खाल्डाखुल्डी छन, ठाउँमा ठाउँमा निर्माण सामग्री थुपारिएका छन्। नगरपालिका बन्न न्यूनतम पूर्वाधारभित्र पर्ने सडक सञ्जाल नै वर्षा नलाग्दै अवरुद्ध भएपछि कुस्मा नगरपालिका मात्र होइन फलेवास नगरपालिका भित्रका सडकको हालत पनि उस्तै छ।

फलेवासको शंकरपोखरी, कार्की नेटा, थापाठाना, खानीगाउँ, पाङराङ, कुर्घा लगायतका ठाउँको सडक पनि बिग्रिएका छन्।

चैत वैशाख महिनामै अत्यधिक वर्षा हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लाका सबैजसो ठाउँका सड्क बिग्रिएका छन्। ट्रयाक मात्रै खुलेका सडकको दुईतर्फ नाली र ग्राभेल नहुँदा वर्षाको पानी जमेर ठूल्ठूला खाल्टाखुल्टी परेका छन्।

यातायात व्यवसायीहरुले पनि धुलो र हिलो सडकका कारण यातायात सञ्चालनमा निकै कष्ट खेप्न परेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्