यात्रुवाहक विमानलाई लडाकू विमानको एस्कर्टिङ



सिंगापुर सिटी
सिंगापुरतर्फ आउँदै गरेको एउटा यात्रुवाहक विमानमा आइतबार बम रहेको सूचना प्राप्त भएपछि वायुसेनाको दुईवटा लडाकू जेट विमानलाई त्यसको एस्कर्टिङका लागि खटाइएको छ। तर अधिकारीले पछि सो सूचना झुठो सावित भएको बताएका छन्।

फिलिपिन्सको सेवुबाट कल साइन टीआर ३८५ बोकेर उडेको तथा १ सय ४४ जना यात्रु सवार सो विमानमा बम रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। स्थानीय सञ्चार माध्यमले सोही विमानमा रहेका १३ वर्षीय किशोरमाथि उक्त अफवाह फैलाएको आरोप लगाएको जनाइएको छ।

अहिले ती किशोरले अनुसन्धानरत प्रहरीलाई आवश्यक सहयोग गरिरहेका छन्। सिंगापुर क्यारियर स्कुटका प्रवक्ताले न्युज आउटलेट दि स्ट्रेट्स टाइम्सलाई दिएको जानकारीअनुसार १ सय ४४ यात्रु र ६ जना चालक दलका सदस्यसहितको सो विमान स्थानीय समयअनुसार आइतबार ४ बजेर ४९ मिनेट जाँदा चान्गी विमानस्थलमा सकुशल अवतरण भएको थियो।

सिंगापुरका रक्षामन्त्री एनजी इन्ग हेनले सिंगापुरले कुनै पनि खतरा सूचना झुठो प्रमाणित नहुन्जेल त्यसलाई वास्तविक नै ठान्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्