राष्ट्रपति ट्रम्प दम्पती बेलायत भ्रमणमा



लन्डन, (एजेन्सी)

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसंग बेलायत भ्रमणमा पुगेका राष्ट्रपति ट्रम्पले बेलायती महारानी एलिजावेथ द्वितीयासंग भेटघाट गरेका छन्। ट्रम्प दम्पतीले बकिंघम प्यालेस निजी लन्च र स्वागत कार्यक्रममा सहभागी भएका छन्।

सोमबार बिहान सबेरै ट्रम्प र मेलानिया अमेरिकी वायु सेनाको विशेष विमानबाट बेलायत आइपुग्नासाथ तिनीहरुलाई राजधानी लन्डनको मध्य भागस्थित अमेरिकी राजदूतको निवासमा लगिएको थियो।

भ्रमणको अवधिभरि ट्रम्प दम्पती त्यहीँ बस्ने बताइएको छ। बेलायतको भूमि टेक्नु केही मिनेटअघि मात्र ट्रम्पले लन्डनका मेयर सादिक खानको आलोचना गरेका थिए। खानसंग उनको विगतमा पनि मनमुटाव रहेको थियो। ट्रम्पले ट्विटरमार्फत भनेका छन् ,‘खान पराजित मानसिकताका व्यक्ति हुन्। तैपनि मैले उनीसंग भेट्ने अपेक्षा गरेको छु।’
खानले ट्रम्पका लागि बेलायतले रातो कार्पेट बिछ्याउनु नपर्ने प्रतिक्रिया दिएका थिए। ट्रम्पको तीनदिने औपचारिक भ्रमणको क्रममा लन्डन, म्यानचेस्टर, वेलफास्ट र बकिंघममा उनीविरुद्ध प्रदर्शन गरिने कार्यक्रम छन्।

सत्ताबाट बाहिरिन लागेकी बेलायती प्रधानमन्त्री टेरेजा मे र ट्रम्पबीच मंगलबार भेटवार्ता शुरु हुने भएको छ। तिनीहरु बीचको वार्ता जलवायु परिवर्तन तथा चिनियाँ प्राविधिक कम्पनी हुबावे बारे केन्द्रित रहने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्