नेकपामा बहसः पुरानै माल, नयाँ मोल !



दीपक खनाल
मिडिया बजारमा फेरि पुरानै माल बिकाऊ बनेको छ । ‘बासी’ विषय साजी बनेर छ्यालब्याल भइरहेको छ । हुन त कला जानेको र पैसा मात्र कमाउने उद्देश्य बोकेको व्यापारीले ‘बासी’ भात वा सामानका पनि अनेक परिकार बनाएर बेच्न सक्दछ । नगनाइसकेको ‘बासी भात’ घ्यू हालेर भुट्दा एकछिन भोक मार्नका लागि दामी हुन्छ अर्थात् त्यसलाई ‘फ्राइ राइस’ बनाउँदा नयाँ परिकार बन्न सक्छ ।

त्यसरी नै सामग्री पुरानै तर नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको मूल शीर्ष नेतृत्वबीचको पुरानो सम्झौता अहिले मिडिया बजारमा नयाँ परिकार वा माल बनेर आइरहेको छ । त्यसलाई सबैजसो मिडियाले ‘हकर’ बनेर लौ ‘नयाँ माल आयो ! नयाँ माल !! आयो भनिरहेको अवस्था छ यतिबेला । यो हुन स्वाभाविक नै हो किनभने सधैँ ‘मनी’ र ‘मसल’ को वरिपरि घुमिरहने अथवा त्यसैलाई ‘स्कूप न्युज’ ठान्ने मिडियाले त्यत्तिको ‘हाइट’ का नेताको अभिव्यक्तिलाई समाचार नबनाउने कुरै भएन ।

सिद्धान्त, मन, शरीर भन्दा टाउको मात्र मिलेको नेकपाको अन्तरसम्बन्धमा बेला–बेलामा दरार पैदा हुनु अस्वाभाविक हैन । पछिल्लोचरणमा भने सोही पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै विगत कोट्याइदिएपछि यो माल अथवा दुई अध्यक्षबीचको लिखित भद्र सहमतिले बजारी चर्चा र मोल पाएको हो ।

यो कुरा बाहिर आएपछि पक्ष/विपक्षका मिडियाले आ–आफ्नै शैली, दृष्टिकोण, सिद्धान्त, स्वार्थअनुसार त्यसलाई उछालिरहेका छन् । तर अभिव्यक्ति दिएको तेस्रो दिनमै अध्यक्ष प्रचण्डले नै आफ्नो भनाइ केही सच्याउनुभएको छ । उहाँले पूर्वेली प्रधानमन्त्री एवम् आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीकै प्रदेश पुगेर पाँचै वर्ष ओलीले नै सरकार चलाउन सक्ने बताउनुभएको छ । शान्ति प्रक्रियामा आएको १३ वर्षमा मिडियाका समेत अन्तर्य बुझिसकेका प्रचण्डले कुटनीतिक पारामा यो पनि भन्नुभएको छ कि मिडियाले पुरानै कुरालाई नयाँ बनाएर अनावश्यक प्रचार ग¥यो ।

प्रचण्डले भनेजस्तै सहमतिको यो विषय नयाँ त होइन तर प्रधानमन्त्री ओली मोदीको शपथमै गएका बेला किन पुरानो सहमति कोट्याउनुभयो भन्ने सन्दर्भ बढी चोटिलो छ । यो कुरा संयोग मात्र नहुन सक्छ । राजनीतिक तरङ्ग ल्याउनकै लागि प्रचण्डले समय पारेर उक्त भनाइ कोट्याएको हुनुपर्छ । किनकि प्रचण्ड नेपाली मात्र नभै विश्व राजनीतिको तलाऊमा बेला–बेलामा ढुंगा हानेर तरङ्ग ल्याउन माहिर हुनुहुन्छ । केहीअघिको उदाहरण हेरौँ न समकालीन विश्वको महाशक्ति राष्ट्र अमेरिकालाई समेत छक्याउने गरी प्रचण्डले नै भेनेजुयलाको पक्षमा दिनुभएको प्रेस वक्तव्य ।

पुरानै तर नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको मूल शीर्ष नेतृत्वबीचको पुरानो सम्झौता अहिले मिडिया बजारमा नयाँ परिकार वा माल बनेर आइरहेको छ । त्यसलाई सबैजसो मिडियाले ‘हकर’ बनेर लौ ‘नयाँ माल आयो ! नयाँ माल !! आयो भनिरहेको अवस्था छ यतिबेला । यो हुन स्वाभाविक नै हो किनभने सधैँ ‘मनी’ र ‘मसल’ को वरिपरि घुमिरहने अथवा त्यसैलाई ‘स्कूप न्युज’ ठान्ने मिडियाले त्यत्तिको ‘हाइट’ का नेताको अभिव्यक्तिलाई समाचार नबनाउने कुरै भएन ।

प्रचण्डलाई बनाउन सक्ने र उतिखेरै भत्काउन पनि सक्ने नेता मानिने गरेको छ । १० वर्षे जनयुद्धका सर्वाेच्च कमाण्डर प्रचण्ड १३ वर्षको संसदीय ‘मनयुद्ध’का पनि राम्रै राजनीतक खेलाडी बनिसक्नुभएछ । पछिल्लो अभिव्यक्तिसँगै फेरि उहाँले भनेजस्तै ‘निरन्तरतामा क्रमभङ्गता’ भएको छ । यसको प्रभाव खासगरी नेकपाभित्रै पर्ने देखिन्छ । तर यो अभिव्यक्तिकै कारण उक्त पार्टी अहिले नै फुटको संघारमा पुग्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने नेकपा भन्ने पार्टी रहँदै रहँदैन अब ।

अन्यथा नमान्ने हो भने ५२ सालदेखि अहिलेसम्मको नेपालको राजनीति तत्कालीन नेकपा माओवादी र शान्ति प्रक्रियापछि प्रचण्डकै वरिपरि घुमिरहेको छ । ५२ देखि सर्वाेच्च शक्ति खेलाउँदै आउनुभएका प्रचण्ड एमाले–माओवादीको एकतापछि एक वर्षयता पहिलेको जस्तै निर्णायक भूमिकामा रहेर एक्लैले राज्यसत्ता र पार्टीसत्ता चलाउन पाउनुभएको छैन । राज्यसत्तामा त देखिने गरी रहनै सक्नुभएको छैन भने पार्टीसत्तामा दोस्रो दर्जामा हुनुहुन्छ प्रमुख भूमिकाविहीन अवस्थामा । उहाँ एक्लैले खासै कुनै निर्णय गर्न नसक्ने भएकाले नै एक वर्षसम्म पार्टी एकताले टुङ्गो लाग्न नसकेको हो भन्छन् जानिफकारहरू ।

यद्यपि एउटै पार्टीमा दुई अध्यक्ष भएकाले सहमतिमा नै निर्णय गर्नुपर्ने हुँदा एकता लम्बिनुलाई अन्यथा मान्न हुँदैन । तर राजनीतिक शक्तिका राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी प्रचण्डलाई भूमिकाबिहीन भएर बस्दा सकसक सकसक लागेकाले कि प्रधानमन्त्री कि पूरा अध्यक्ष चाहेको हुनसक्छ । उहाँलाई बढी रहर अभल ठूलो पार्टीको एक्लो अध्यक्ष बन्ने नै हुनुपर्छ । किनकि पार्टीसत्ता राज्यसत्ताको तुलनामा दिगो र दीर्घायु हुन्छ । त्यसैको लागि यो कार्ड फालेको हुनसक्छ । दुई भीमकाय पार्टी मिलेर एउटै अजङ्ग पार्टी बनेको अवस्थामा ‘पावर सेयरिङ’ का कुरा गर्नुलाई नाजायज मान्न नसकिने तर्कहरू पनि आएकै छन् । अर्काे आँखाले हेर्दा नेकपाको एकता अझै मजवूत बनाउन यस्तो अभिव्यक्ति दिएको पनि हुनसक्छ, जसले पार्टीलाई छिटो तार्किक एकतामा लैजान दबाब देओस् ।

तर प्रचण्डको अभिव्यक्तिले प्रधानमन्त्री ओलीलाई धर्मसंकट परेको छ । दवाब बढेको छ । लिखितै सहमति भएकाले उहाँले कुनै दिन प्रधानमन्त्री या अध्यक्षमध्ये एक त छाड्नु नै पर्ने हुन्छ होला पार्टी एकता जोगाउनका लागि पनि । यदि समझदारी भएन भने त्यो अवस्था जबर्जस्त आउन पनि सक्छ किनकि नेकपाभित्रै उहाँलाई साथ दिने सबै छैनन् । शीर्ष नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठहरू समेत ‘प्वाइन्ट–प्वाइन्ट’मा गौँडा कुरेर बसिरहनुभएको छ ।

उहाँलाई पार्टीभन्दा एउटा गुट चलाएको भन्ने आरोप पनि लाग्ने गरेको छ । तर यही पदीय विवादलाई लिएर पार्टी फुटाउने अवस्थामा जानैहुन्न नेकपा । यो उसका लागि मात्र हैन देश र जनताका लागि पछिसम्म घातक हुनेछ । जनता राणाशासनविरुद्धको लडाईमा समाहित भए, पञ्चायत फाल्न जुर्मुराए, झापा विद्रोह, जनयुद्धमा लामवद्ध भए अनि दोस्रो जनआन्दोलनमा समेत साथ र हात दिए । संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा र ५८ वर्षपछि नेकपालाई दुई तिहाइ मत दिन निःशर्त तयार भए । यदि यो जनचाहनाप्रति वेवास्ता गर्दै पदकै कारण नेकपा टुट्ने–फुट्ने स्थिति आयो भने ‘क्रिटिकल–मास’ जनताले यसलाई गम्भीर धोका सम्झेर नयाँ विकल्प खोज्नेछन् । त्यसैले यो विषयलाई हो–हल्ला गरेर हैन भित्रै सहमति गरेर सल्ट्याउनुपर्छ नेकपाले ।
(खनाल स्वतन्त्र पत्रकार हुन्)

प्रतिक्रिया दिनुहोस्