पुलिस सेमिफाइनलमा



काठमाडौं, नेस

नेपाल पुलिस क्लब तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार प्रदेश–२ लाई १ सय ५६ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनलमा पुलिसले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ। त्यस्तै आर्मी पनि समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

२ सय ५४ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले २९ ओभरमा ९७ रन बनाउन सबै विकेट गुमायो। उसका लागि ओपनर हरिशंकर शाहले ३५ बलमा ४ चौकासहित सर्वाधिक २९ रनको योगदान दिए।

सुरज पटेल १२, कप्तान महबुब आलम २१ र रवि शाहले १५ रन जोड्नबाहेक प्रदेश–२ का अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्। त्यसअघि आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ५३ रन बनाएको थियो। पुलिसका लागि युवा खेलाडी अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए। ३८ ओभरको दोस्रो बलमा साम्सद शेखले रासिद खानबाट क्याच गराउनुअघि उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्