बंगलादेशसँग हार्यो दक्षिण अफ्रिका



लन्डन, (एजेन्सी)

इंग्ल्यान्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशसँग दक्षिण अफ्रिका पराजित भएको छ।

आइतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद शुरुआत गरेको हो।

लन्डनस्थित केनिङ्टन ओभलमा बंगलादेशले ३ सय ३१ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९ रन मात्र बनाएपछि दक्षिण अफ्रिका स्तब्ध बन्यो।
दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार भने टार्न पर्याप्त भएन। यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५÷४५ रन जोड्दा भान डेर डुसेनले ४१ रन बनाए। डेभिड मिल्नरले ३८ रन बनाउँदा क्विनटन डी ककले २३ रन जोडे।

बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साइफुदिनले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो। बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले। रहमानले ७८ रन जोड्दा हसनले ७५ रन बनाए।

यस्तै महमद उल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे। मोसाडेक होसेनले २६ रन जोड्दा मोहमद मिथुनले २१ रन बनाए। दक्षिण अफ्रिकाका लागि इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले २÷२ विकेट लिएका थिए।

जितसँगै बंगलादेशले पहिलो खेलमै २ अंक जोडेर शानदार शुरुआत गरेको छ। दक्षिण अफ्रिकाले भने हारबाट विश्वकपको थालनी गरेको छ।

प्रतिक्रिया दिनुहोस्