मध्यमोदी जलबिद्युत आयोजनाको काम एक हप्तापछि सुचारु



नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको काम एक साता पछि सुचारु भएको छ ।

चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बिचमा सहमति कायम भएपछि आइतबार देखि काम सुचारु भएको हो । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण जेठ १२ गते देखि ठप्प बनेको थियो ।

आयोजनाको सुरुङ्ग निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पूननिर्माण तथा क्षतिपुर्तीको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गर्दै आएका छन । मोदी गाउँपालिका वडा नं. १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घरहरु भूकम्पले झै भत्किन थालेपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

छलफलका क्रममा स्थानीयवासीका घरहरुमा पुगेको क्षति भुगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपुर्तिको रकममा पुर्नमुल्याँकन गरि रकम दिने सहमति भएपछि काम सुचारु भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । प्रभावित क्षेत्रका बासिन्दाले प्राबिधीक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका छन ।

यसैगरी क्षति पुगेका ६ वटा घरधनीले भने पहिल्यैदेखि क्षतिपुर्तिको रकम बुझेको बताईएको छ । प्रभावित क्षेत्रमा पर्ने सुरुङ्ग भन्दा माथि परेका २८ घरपरिवार समस्यामा रहेका छन् । घर पुर्ननिर्माणको काम स्वयंले शुरु गर्ने र आवश्यक रकम आयोजना दिने सहमति यस अघि पनि भएको थियो ।

आयोजनाको काममा आगामी दिनमा अबरुद्ध नगर्ने, स्थानीयको घर पुर्ननिर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका कामहरु प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भएपनि काम नभएका कारण पुनः ताकेता गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्