एपीएफ सेमिफाइनलमा



काठमाडौं, (नेस)
नेपाल एपीएफ क्लबले तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
शुक्रबार ४३ ओभरमा कटाइएको खेलअन्तर्गत एपीएफले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको जित हात पारेको हो। लगातार तेस्रो जितसँगै एपीएफ एक खेल खेल्नुअगावै अन्तिम चारमा पुग्यो। विभागीय टोलीले गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य २३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गरेको थियो। टोलीका लागि ओपनर शरद भेषवाकरले ५४ बलमा ४ चौकासहित ३५ रन बनाए। उनले विजयी चौका प्रहार गरेका थिए। त्यस्तै प्रदीप ऐरीले ३३ रन, आशिफ शेखले २० रन बनाए। ऐरीले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। गण्डकीका लागि दीपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकी ४१ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय २५ रनमा खुम्चिएको थियो। टोलीका लागि दीपेशले २ चौकासहित सर्वाधिक २७ रनको योगदान दिए भने आकाश थापाले १९ रन बनाए। त्यस्तै विपिन खत्रीले १७, किशोर महतोले १५ र राहुल शर्माले १४ रन जोडेका थिए। एपीएफको बलिङमा भुवन कार्कीले २२ रन खर्चेर ३ विकेट लिए। शरद, अमरसिंह रउतेला र यज्ञमान कुमालले समान २÷२ विकेट हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्