त्यो भेट, यो अमिट छाप



दाइले सम्झिँदै भन्नुभयो– ‘ए पहिले चिनेकै मान्छे हुनुहुँदोरहेछ नि’ त्यही दिनदेखि टुटेको कडी जोडियो। उहाँ प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य भइसक्नुभएको र आफू पनि यतिबेला त्यही संस्थामा आबद्ध भएकाले छुट्टै सामीप्यता बढ्यो।

दीपक खनाल
त्यो साल ठ्याक्कै याद भएन तर सम्झना आइरहेछ। युवा उमेर, तातो रगत, रातो हिम्मत। राष्ट्रवादी चट्टानी अडान। स्कुले जीवनदेखि नै राष्ट्रप्रतिको अगाध माया। शहर छिरेर पत्रकारिता तथा आम सञ्चार विषय पढेपछि पत्रकारितातिर मोडिएको मन। नेपाली मिडियामा वैदेशिक लगानी हुनैहुन्न, किनकि यस्तो लगानी राष्ट्रकै लागि घातक हुन्छ भन्ने स्पष्ट बुझाइ।

काठमाडौं नपस्दै स्कुल पढ्दैताकाको कुरा हो, सान्दाजुले कहिलेकाहीं लैजानुहुन्थ्यो साधना पत्रिका। समय हुँदा, गोठालो जाँदा या घरमै स्वास्थ्यसम्बन्धी खुराक खुब पढ्न मन लाग्थ्यो तर त्यसलाई पत्रिका वा पत्रकारिता भनेर बुझेर होइन, किताबकै रूपमा बुझेर पढिन्थ्यो। काठमाडौं आएर त्यही विषय पढेपछि काम पनि गर्दै जाँदा थाहा भयो त्यो पत्रिका त कामना प्रकाशनका प्रमुख पुष्करलाल श्रेष्ठले पो निकाल्नुभएको रहेछ।

मिडियामा विदेशी लगानी ल्याउन नहुने उहाँको अडान र उहाँले त्यतिबेला चलाउनुभएको आन्दोलन मन परेकाले जानी नजानी त्यसमा सहभागी भएको थिएँ म। अरू कारण होइन, राष्ट्रप्रतिको अगाध मायाले ओतप्रोत भएर। त्यहीबेला हो पुष्कर दाइ अर्थात् स्कुले जीवनमै पढेको साधनाका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठसँग प्रत्यक्ष भेट भएको। दाइको त्यो अडानलाई साथ दिनुपर्छ भन्ने परब्र≈माको सोच भएकाले दाइको अन्तर्वार्ता छपाएको थिएँ त्यतिबेला मेरै सम्पादकत्वमा प्रकाशित हुने एउटा मासिकमा।
करिब डेढ वर्षअघिको कुरा हो म एमफिल क्लासमा थिएँ। बन्धुमित्र टीका बन्धनले फोन गर्नुभयो, एकछिन भेट्ने कि भनेर। दाजु मित्र यदुप्रसाद भट्टका साथ उहाँ आउनुभयो। यदु दाइ मैले पटक–पटक देखेको, जम्काभेट भएको तर मुखामुख भेट नभएको जिल्लाबासी नै हुनुहुँदोरहेछ। तीन भाइ नेपाल ल क्याम्पस क्यान्टिनमा सेल र चिया खाँदै भलाकुसारी ग¥यौं। त्यसको अर्को दिन अर्का मेरा पुराना दाजु मित्र दीपक रिजालसँग भेट भो। यदु दाइले पुष्कर दाइसँग उहाँकै कार्यकक्षमा भेट गराउनुभयो। मैले पुराना दिनको याद गराएपछि दाइले सम्झिँदै भन्नुभयो– ‘ए पहिले चिनेकै मान्छे हुनुहुँदोरहेछ नि⁄’ त्यही दिनदेखि टुटेको कडी जोडियो। उहाँ प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य भइसक्नुभएको र आफू पनि यतिबेला त्यही संस्थामा आबद्ध भएकाले छुट्टै सामीप्यता बढ्यो।

कहिलेकाहीं ‘दीपवाणी’ मन पर्दा पुष्कर दाइ ‘ठीक लेख्नुभयो दीपक भाइ’ भनेर मेरो फेसबुक म्यासेन्जरमा प्रतिक्रिया पठाउनुहुन्थ्यो। एक स्वतन्त्र वरिष्ठ पत्रकारले यसरी कमेन्ट गरेको देख्दा ठीकै लेखेछु जस्तो लाग्थ्यो मलाई। वैशाखको पहिलो साता म गोरखा घरमा थिएँ। वैशाखे हावाहुरीले बत्ती नै आएन झन्डै डेढ दिन। सूचनाविहीन भएर बसिरहेको अवस्थामा एक्कासि बत्ती आयो। डाटा खोलेर हेर्दा फेसबुकका भित्ताहरू उहाँको निधनले शोकमग्न बनिसकेका रहेछन्। मर्माहत भएँ, उकुसमुकुस भयो। यद्यपि काठमाडौं हुँदा नै पुष्कर दाइको अवस्था अत्यन्तै गम्भीर रहेको जानकारी थियो। तैपनि गाउँमा व्यस्त रहेकै बेला संयोगवश उहाँले देहत्याग गर्नुभएको र आफू मलामी बन्न नपाएकामा खिन्नता महसुस भयो।

उहाँ एक्कासि बिरामी पर्न थालेदेखि साथीहरूसँग अनि कुरा गर्न सक्ने हुँदा उहाँसँग पटक–पटक फोनबाट कुराकानी हुन्थ्यो। मैले म्यासेन्जरमा पठाएको एसएमएसमा उहाँले लेख्नुभएको थियो– ‘म अत्यन्त कमजोर अवस्थामा छु भाइ, यति टाइप गर्न पनि ५ मिनेट लाग्यो। धन्यवाद’ उहाँसँगको अन्तिम संवाद नै यही र≈यो।

पछिल्लो चरणमा मेडिसिटी अस्पताल पुगेको थिएँ। उहाँलाई भेट्न पाइने स्थिति त थिएन, संयोगले परिवारका अन्य सदस्यसँग पनि भेट भएन। नेपाली व्यावसायिक पत्रकारिताको क्षेत्रमा उहाँको योगदान गह्रुँगो छ। यसलाई कसैले चाहेर पनि मेट्न सक्दैन। उहाँले पञ्चायतकालदेखि नै शुरू गर्नुभएको व्यावसायिक पत्रकारिताले आज मुलुकमा धेरै प्रतिभावान् पत्रकार, कलाकार जन्माएको छ। देशका मूलधारका अन्य पत्रपत्रिका र नेपाल समाचारपत्र, कामना÷साधना अनि पुष्करलाल दाइ र अरूहरूमा म यही भिन्नता देख्छु कि पुष्करलाल लगानीकर्ता हुँदाहुँदै पनि बौद्धिक, अनुसन्धाता, व्यावसायिक पत्रकार, लेखक हो। यस्ता वरिष्ठ पत्रकारको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक हस्ती पत्रकार गुमाएको छ। अनि यस्ता उच्चकोटीका पत्रकारसँग लामो समयसम्म जोडिन नपाएकामा दुःख लागेको छ। तैपनि प्रकृतिको नियम मान्नैपर्ने अनि भन्नैपर्ने– ‘अलबिदा पुष्कर दाइ !

प्रतिक्रिया दिनुहोस्