देश रोएको क्षण



सानो होस् वा ठूलो जोसुकै मान्छे भेट्न आए पनि उहाँ उत्तिकै समय दिनुहुन्थ्यो। उहाँले आफूले पत्रकारिता गर्दाका त्यति बेलाका दुःख, झन्जट र अप्ठ्याराहरू भेटेसम्म धेरैलाई सेयर गर्नुभयो।

ज्ञानमणि नेपाल कालोटोपी
मान्छे एक्लै जन्मिन्छ, रुँदैरुँदै र मर्छ धेरैलाई रुवाउँदै। जीवनकालमा उसले गरेका राम्रा वा नराम्रा जे–जस्ता काम हुन सक्छन्, जसले उसका सन्ततीलाई पछिसम्म पनि सम्झाउँछ, अनि झस्काउँछ पुराना यादहरूले। समाजमा केही यस्ता मानिस हुन्छन् जो–कसैको आँखामा राखे पनि नबिझाउने जस्तै लाग्छन्। र, समाज त्यही हो कोही यस्ता मान्छे पनि हुन्छन् यहाँ, जो सधैं त्यही समाजमा आँखाको कसिंगर जस्तै भएर बसिरहेका हुन्छन्।

देशभक्त छोरो मर्दा पूरै देश रुने रहेछ न कि एउटी आमा, परिवार वा आफन्त मात्रै। २०७६ वैशाख ४ गते पनि त्यस्तै भयो। नेपाली पत्रकारिता क्षेत्रका लागि एउटा दुःखद दिन, समग्र सञ्चार क्षेत्रले एउटा अभिभावक गुमाएको दिन। नेपालमा व्यावसायिक पत्रकारिताका शुरूआतकर्ता आदरणीय सर पुष्करलाल श्रेष्ठलाई हामीले गुमाएको दिन।

पुष्करलाल श्रेष्ठ, तत्कालीन कामना प्रकाशन समूह ९हालको कामना न्यूज पब्लिकेसन्स्०का जन्मदाता हुनुहुन्छ। २०४१ साल मंसिर १५ गते जतिबेला उहाँले एउटा सञ्चार क्रान्तिको शुरूआत गर्नुभयो त्यो साँच्चै नै ऐतिहासिक क्रान्ति थियो। नयाँ युगको शुरूआत पनि थियो। त्यति बेला अहिले जस्तो सञ्चारमाध्ययमको पहुँच नहुँदा र छाप्ने प्रेस नहुँदा पनि उहाँले पत्रिका छापेर नागरिकलाई सूचना दिने कार्यको शुरूआत गराउनुभयो। यसर्थ पनि निजी प्रकाशन गृह खोलेर नेपालमा व्यावसायिक पत्रकारिताको जग बसाल्नमा उहाँको ठूलो योगदान छ।

तत्कालीन अवस्थामा मनोरञ्जन क्षेत्रबाट उहाँले पत्रकारिता शुरू गर्नुभएको थियो। उहाँकै अगुवाइमा शुरू गरिएको कामना सिने मासिक हालसम्म पनि निरन्तर प्रकाशनमै छ। कामना प्रकाशनअन्तर्गत कामनाका अतिरिक्त खोजमूलक पारिवारिक खुराक साधना मासिक, नेपालकै पहिलो सन्ध्याकालीन दैनिक महानगर ९हाल बन्द भए पनि समाचारपत्रमै एउटा नियमित पेज छुट्याइएको छ० र नेपाल समाचारपत्र राष्ट्रिय दैनिक प्रकाशनमा छन्। देशमा अहिले जहाँ जति पनि पत्रकार छन्, ती धेरैजसोको पत्रकारिता कामना प्रकाशनबाटै शुरू भएको छ। यहाँ काम गरेर मात्र अधिकांश पत्रकार अन्य सञ्चार संस्थाहरूमा गएका हुन्। यसर्थ पनि पुष्करलाल श्रेष्ठ धेरै पत्रकारका अभिभावक, गुरु र समग्र नेपाली पत्रकारिता क्षेत्रकै भीष्म पितामह हुनुहुन्छ।

पुष्करलाल सरको हँसिलो स्वभाव र मिजासिलो व्यवहारले जो–कसैलाई पनि आकर्षित गर्ने गथ्र्यो। सानो होस् वा ठूलो जोसुकै मान्छे भेट्न आए पनि उहाँ उत्तिकै समय दिनुहुन्थ्यो। उहाँले आफूले पत्रकारिता गर्दाका त्यति बेलाका दुःख, झन्जट र अप्ठ्याराहरू भेटेसम्म धेरैलाई सेयर गर्नुभयो। नभेटेका जति छन् सबैलाई उहाँको जीवनीमा आधारित अशोक सिलवालद्वारा लिखित कलम पुस्तकमा सबै कुरा व्यक्त गर्नुभएको छ। एउटा निर्भीक र निडर पत्रकार तथा खरो स्वभावका स्पष्ट वक्ता हुनुहुन्थ्यो पुष्करलाल सर। अहिले त्यो पुस्तक पढ्ने हो भने पनि सबै कुराको जानकारी हुन्छ। यसर्थ उहाँको अभावले यति बेला कामना न्यूज पब्लिकेसन्स् त टुहुरो भएको छ नै समग्र पत्रकारिता क्षेत्रले नै भीष्म पितामह गुमाएको छ।

मेरो व्यक्तिगत कुरा गर्नु पर्दा पहिलोपटक उहाँलाई मैले भेटेको २०५९ सालमा हो। शुरूमा त पातलो ज्यान भएको, दुब्लो मान्छे यो को होलाजस्तो लागेको थियो, तर नाम भने धेरै अघिदेखि नै सुनेको थिएँ। तत्कालीन समयमा मेरा आदरणीय अंकल बद्री तिवारी महानगरको सम्पादक हुनुहुन्थ्यो। म उहाँलाई भेट्न जाने क्रममा कामना प्रकाशनकै कार्यालयमा पुष्कर सरसँग भेट भएको थियो। मैले नभेट्दा पुष्करलाल सर जस्तो ठूला मान्छेले हामीलाई के चिन्लान् र भन्ने जुन भ्रम थियो मसँग त्यो पहिलो भेटमै सबै झुटो सावित भयो। निकै रमाइलो, भलाद्मी र मिजासिलो व्यक्तित्व पाएँ उहाँमा मैले। म पहिलो भेटमै प्रभावित भइसकेको थिएँ। भर्खरै स्नातक पढ्न भनेर काठमाडौं छिरेको मलाई त्यतिबेला काम खोज्न र काम गर्न कसले नै अवसर दिन्थ्यो र रु तर, मैले पढ्दापढ्दै त्यही कामना प्रकाशनमै पुष्कर सरकै छाताभित्र काम गर्न पाएको थिएँ। यसर्थ म कामना र पुष्कर सरलाई कहिल्यै भुल्न सक्दिनँ।

०६० सालमा मैले नेपाल समाचारपत्रबाटै प्रशिक्षार्थी पत्रकारका रूपमा पत्रकारिता शुरू गरें। त्यस समयमा मलाई उहाँले धेरै कुरा सिकाउनुभयो। केही गल्ती नै भइहाले पनि उहाँ हाँसीहाँसी सिकाउनुहुन्थ्यो। सिक्दै काम गर्दै गएँ। आजसम्म पनि म नेपाल समाचारपत्रमै काम गरिरहेको छु। उहाँको त्यो गुन र सहयोगलाई मैले कहिल्यै भुलेको छैन, भुल्ने पनि छैन। यहाँ काम शुरू गरेपछि मभन्दा अग्रज पत्रकारहरू टंक पन्त, किशोर सापकोटा, स्वागत नेपाल, व्याकुल पाठक, महेन्द्र विष्ट, गजेन्द्र बुढाथोकी, भगवती तिमल्सिना, राजेन्द्र पराजुली, लेखनाथ अधिकारी, कपिल काफ्ले, दानदास श्रेष्ठ, विष्णु शीतल, रोहिणी घिमिरे, दीपक रिजाल, विदुर गिरीलगायत ९सबैको नाम लिन गाह्रो छ०सँग राम्रो चिनजान पनि भयो। जसकै कारण आज मलाई काम गर्न पनि निकै सजिलो भएको छ।

पुष्करलाल सरसँग एकपटकको कुरा म सधैं सम्झन्छु। पछिल्ला केही वर्षयता विशेष गरी विचार प्रधान लेखहरू लेख्नमा अलि समय दिन थालेको थिएँ। २०७२ फागुन २४ गते महिला दिवसका बारेमा एउटा लेख नेपाल समाचारपत्रमा छापियो। त्यति बेला राजधानीमा टर्किस विमान रनवेमै धसिएको घटनाले केही दिन निकै सनसनी मचाइरहेको विषय पनि उस्तै थियो। मैले २४ गते बेलुका त्यो विषयमा पनि लेख तयार गरेर पुष्कर सरलाई मेल गरें। भोलिपल्ट बिहानै त्यो लेख पनि छापिएर आएछ। लगातार २ दिन एउटै स्तम्भमा विचार छापिने कामनाको इतिहासमै तिमी एउटै मात्र पत्रकार हौ। यो अवसर अहिलेसम्म कसैले पाएको छैन। राम्रो छ, अझै राम्रो गर्नु भनेर उहाँले प्रशंसा गर्नुभएको त्यो क्षण म कहिल्यै पनि बिर्सन सक्दिनँ।

हुन त उहाँसँग त्यति धेरै भेट्न पाउँदैनथें। जहिले भेट्थें आफ्नै बुबासँग भेटिए जस्तै लाग्थ्यो। उहाँसँग म धेरैजसो अनलाइनमा कुरा गर्थें। बिहान ५ बजेतिरै शुभबिहानी सर भनेर म्यासेज पठाउँदा त्यति छिट्टै पनि ब्याडमिन्टन खेल्दै छु भन्नुहुन्थ्यो। मैले उहाँलाई एउटा पत्रकारका रूपमा मात्र नभएर खेलप्रेमीका रूपमा पनि चिनेको थिएँ। पछि मात्र थाहा पाएँ उहाँ त प्रख्यात फुटबल खेलाडी पनि हुनुहुँदो रहेछ।

एकपटक उहाँले कीर्तिमानी धावक सञ्जय पण्डितको बारेमा एउटा फिचर स्टोरी बनाउन भन्नुभयो। सञ्जयजीले पनि मलाई जहिले पनि पुष्करसरको पत्रिकामा खोइ मेरो फिचर भनेर हैरान पार्थे। त्यो आजभन्दा करिब ३ वर्षअघिको कुरा हो। मैले सरको अनुमती लिएर भोलिपल्टै फिचर बनाएर मेल गरें। २ दिनपछि महानगर पेजमा आधा पेजको स्टोरी छापियो। उहाँले त्यति बेला पनि निकै खुसी व्यक्त गर्नुभएको थियो। तर, विडम्बना आज ती सञ्जय पण्डित ९२ वर्षअघि अफ्रिकामा हिमाल चढ्ने क्रममा निधन० छैनन् अनि आदरणीय पुष्कर सर पनि।

जन्मेपछि सबैले मर्नु पर्छ। तर, ६० वर्षको अल्पायुमै पुष्कर सरले हामी सबैलाई छोडेर जानुहोला जस्तो कहिल्यै लागेको थिएन। अहिले पनि कामना पब्लिकेसनको कार्यालय पुग्दा पुष्कर सर यतै हुनुहुन्छ जस्तो लाग्छ। उहाँले देखाउनुभएको मार्गमा हामी सञ्चारकर्मीले हिँड्न सक्यौं भने पक्कै पनि पुष्कर सरप्रति सच्चा सम्मान हुनेछ। आज हामीले एउटा होनहार गुरु गुमायौं। देशले एउटा सच्चा सपुत गुमायो। पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भयो।

नेपाली पत्रकारिता क्षेत्रले भिष्म पितामह गुमाउँदा पनि राज्यले उहाँप्रति देखाउनुपर्ने सहानुभूति र सद्भाव थोरै पनि नदेखाएको भान भइरहेको छ। अन्य सञ्चारमाध्यमले पनि उहाँको बारेमा समाचार लेखेर सामान्य औपचारिकता मात्र निभाए। यति छिट्टै उहाँको योगदानलाई भुल्न नहुने थियो। यसप्रति भने मलाई दुःख लागेको छ। यो दुःखद घडीमा उहाँको आत्माले शान्ति पाओस् र परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवान्ले प्रदान गरुन् भन्ने कामना गर्न चाहन्छु। सधैं तपाईंको तस्वीर अगाडि राखेर काम शुरू गर्नेछु। तैपनि तपाईंको अभाव हामी सबैलाई सधैं रहिरहनेछ। अलबिदा पुष्कर सर।

प्रतिक्रिया दिनुहोस्