जीपी कोइरालाको नाममा विराटनगरमा संग्राहालय बन्ने



विराटनगर ।
जीपी कोइराला फाउन्डेशन प्रदेश नम्बर १ ले विराटनगर —७ स्थित कोइराला निवास परिसरमा नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा ”संग्राहालय” को निर्माण गर्ने भएको छ । जीपी फाउन्डेशनका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आज संग्राहालय भवनको एक कार्यक्रमका विच शिलन्यास गर्नुभयो ।

स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सवै बस्तु संग्राहालयमा राखिने छ । फाउन्डेशनकी अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दावी गर्दै उनकै सम्झनामा संग्राहालय निर्माण हुन लागेको जानकारी बताउनु भयो । प्रदेश सरकारको ४० , समाजिक विकास मन्त्रालयको २० र विराटनगर महानगरको १५ लाख रूपैयाको प्रारम्भिक सहयोगमा भवन निर्माण सुरू गरिएको छ । कुल ४ करोड खर्च गरेर निर्माण हुने संग्राहालय ४ तल्लाको हुनेछ ।

स्वर्गीय कोइरालाले सुत्ने ओछयान देखि निजी जीवनमा प्रयोग गर्ने सवै सामाग्री संग्राहलयमा प्रर्दशनीमा राखिने छ । त्यस्तै विदेशी राष्ट्रअध्यक्ष सँग खिचेका फोटो , लत्ता कपडा लगायतका सामाग्री राखिने छ । अध्यक्ष सुजाताले संग्राहलयमा पिताजी कृष्णप्रसाद कोइरालाका ५ छोरा मातृक ,वीपी , केशव , गिरिजा र तारणी प्रसादका सवै सामाग्री प्रर्दशनीमा राखिने जानकारी दिनुभयो । प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो संग्राहलय अवलोकन गर्न विदेशीहरू पनि आउने उहाको दावी छ ।

फाउन्डेशनका प्रदेश .१ अध्यक्ष इन्दिरा थापाले आगामी २ बर्ष भित्रै संग्राहलयको निर्माण समपन्न गरि संचालनमा ल्याउने जानकारी दिनुभयो । प्रदेश सभा सांसद केदार कार्की , विराटनगरका मेयर भीम पराजुलीले संग्राहलयको निर्माणको लागी सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लालदास लगायतले कोइरालाको जीवनमा आधारित संग्राहलय निर्माण हुनु देशकै लागी गौरबको बिषय भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्