सूचना महामार्ग हुँदै डिजिटल नेपालतिर



लक्ष्मण अधिकारी
मुलकमा सूचना महामार्गको निर्माण कार्य जेठ ६ बाट आरम्भ भएको छ । करिब १ सय २ वर्षअघि जेठ महिनादेखि नै आमनेपालीलाई टेलिफोन सेवा प्रयोग गर्न पाउने सुविधा उपलब्ध भएको थियो । यस अर्थले पनि जेठ महिना नेपालमा दूरसञ्चार सेवाको विकासको दृष्टिले महत्वपूर्ण कोसेढुंगा निर्माणको महिना भएको छ ।

मुलुकको समग्र विकासका लागि महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको अप्टिकल फाइबर सञ्जाल देशैभर विस्तार गर्ने अभियानको थालनीले अब केही वर्षमै ग्रामीण क्षेत्रसम्म दु्रत गतिको दूरसञ्चार सेवाको सहज पहुँच पुग्ने आशा पलाएको छ । विकासका पूर्वाधारहरुको विस्तार शहरकेन्द्रित हुने परम्परागत स्थितिबाट छलाङ मार्दै मध्यपहाडी लोगमार्गअन्तर्गत पूर्वमा पाँचथर जिल्लाको चियो भन्ज्याङदेखि गोरखा र धादिङ जिल्लाको सिमाना आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर लम्बाइमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यको थालनीले मुलुकको दूरसञ्चार क्षेत्रको विकासमा अग्रगामी फड्को मार्ने देखिएको छ । यो आयोजनाले मुलुकभरका प्रत्येक जिल्ला र स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्न सहयोग पुग्नेछ ।

देशैभर दु्रत गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने योजना मुताबिक नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको करिब ९ अर्ब रुपियाँ प्रयोग गरी अप्टिकल फाइबर बिछ्याउने कार्य गर्न विभिन्न संस्थाहरुलाई जिम्मेवारी दिएको छ । यस परियोजनाअन्तर्गत प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने जिम्मा नेपाल टेलिकमले पाएको छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा युटीएल तथा कर्णाली र सुदूर पश्चिममा स्मार्ट टेलिकमले अप्टिकल फाइबर विस्तार गर्ने जिम्मेवारी पाएका छन् ।

नेपाल टेलिकमले जिम्मेवारी पाएको यस आयोजनाको औपचारिक शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते प्रदेश नं. ३, धादिङको गल्छी गाउँपालिकास्थित मासटारमा गरिसकेका छन् । साथै प्रदेश नं. १ अन्तर्गत धनकुटाको हिले र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा पनि सोही दिन मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण गर्ने कार्यको शुभारम्भ पनि भइसकेको छ ।

यो आयोजना सम्पन्न गर्नका लागि नेपाल टेलिकमले विभिन्न ५ वटा कम्पनीसँग निर्माण सम्झौता गरेको छ । प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि फाइबर बिछ्याउने काम हङकङको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनलसँग सम्झौता गरेको छ । त्यस्तै गरी डिडब्ल्युडिएम उपकरणका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सीटीयस कम्युनिकेसन्ससँग सम्झौता गरेको छ ।

सूचना महामार्गको विस्तारले सरकारी सेवालाई अझ पारदर्शी बनाउने र सो सेवामा स्थानीय मानिसहरुको पहुँच सहज हुनेछ । यसले सरकारी सेवा र सरकारी तवरबाट उपलब्ध गराइने सूचना सामग्रीहरु प्राप्तिका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटी सेवाग्राहीलाई सहजता आउनेछ । यसले सेवाग्राहीको खर्चमा समेत कमी ल्याउनेछ ।

यस आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा सीधा पूर्व–पश्चिम मात्र नेटवर्क विस्तार गर्ने नभई सडकका दायाँ–बायाँ पर्ने जिल्लाहरुमा पनि सूचना महामार्गको सञ्जाल विस्तार गरिने भएकाले सूचना सञ्चार क्षेत्रको विकासका दृष्टिले यो निकै महत्वपूर्ण साबित हुने देखिएको छ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा समेत ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीतिअनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम तय गरिएको छ । मध्यपहाडी लोकमार्गको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा समेत अप्टिकल नेटवर्क विस्तार गरिने भएकाले त्यस क्षेत्रका उपभोक्तहरु द्रुत गतिको दूरसञ्चार सेवाबाट लाभान्वित हुनेछन् । सूचना महामार्ग विस्तारको आयोजना सम्पूर्णरुपमा सम्पन्न भएपछि हाल ५६ प्रतिशत जनतामा पुगेको इन्टरनेट सेवाको पहुँचमा उल्लेख्य वृद्धि हुनेछ र आममानिसले गुणस्तरीय इन्टरनेट सेवाबाट प्राप्त हुनसक्ने विविध किसिमका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

दु्रत गतिको दूरसञ्चार सेवा ग्रामीण तहसम्म पुगेपछि स्थानीय सर्वसाधारण पनि सहजै ग्लोबल भिलेजमा आबद्ध हुनेछन् । साथै विश्वका उत्कृष्ट ज्ञान, सीप प्राप्त गर्न र आफ्ना ज्ञान, सीप र अनुभवहरु विश्वका कुनै पनि कुनाका मानिसहरुसँग साटासाट गर्न सक्षम हुनेछन् । विश्वभरको सूचना स्रोतमा स्थानीय मानिसहरुको पहुँच वृद्धिले ज्ञानको दायरा फराकिलो हुनुका साथै व्यापार तथा अन्य व्यवसायको विस्तार गर्न सक्षम भई आर्थिक अभिवृद्धिमा टेवा पुग्नेछ । स्थानीय मानिसलाई आफ्नो व्यवसायमा उच्च स्तरको प्रविधि भित्र्याई उत्पादन बढाउन र उत्पादित वस्तुहरु बजारसम्म पु¥याउनका लागि पनि सहज हुनेछ ।

सूचना महामार्गको विस्तारले सरकारी सेवालाई अझ पारदर्शी बनाउने र सो सेवामा स्थानीय मानिसहरुको पहुँच सहज हुनेछ । यसले सरकारी सेवा र सरकारी तवरबाट उपलब्ध गराइने सूचना सामग्रीहरु प्राप्तिका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटी सेवाग्राहीलाई सहजता आउनेछ । यसले सेवाग्राहीको खर्चमा समेत कमी ल्याउनेछ । सरकारी सेवाहरु डिजिटल माध्यमबाट उपलब्ध हुन थालेपछि सेवाग्राहीहरु बिचौलियाहरुबाट उत्पन्न गराइने भ्रमबाट मुक्त हुन सक्नेछन् भने उनीहरुबाट गराइने अनावश्यक खर्च पनि बचत हुन जानेछ । यसबाट सर्वसाधारणको समय, श्रम र खर्चसमेत बचत हुन जानेछ ।

यसका साथै ब्रोडब्यान्ड सेवाको विस्तारले स्थानीय जनताको पहुँच टेलिमेडिसिन, डिस्ट्यान्स लर्निङ, इ–कमर्स, इ–एग्रिकल्चर, इ–टुरिज्म, इ–बैंकिङजस्ता सेवाहरुमा वृद्धि भई लाभान्वित हुन सक्नेछन् । वास्तवमा मुलुकभर सूचना महामार्गको विस्तारले आमनागरिकको जीवनमा आमूल परिवर्तन ल्याउन सक्नेछ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भनेझैँ सूचना महामार्गको निर्माणबाट मुलुकको सर्वोपरि विकास र आधुनिकीकरणमा सहयोग पुग्नेछ ।

मुलुकभर विस्तार गर्न लागिएको अप्टिकल फाइबर नेटवर्कको गुणस्तर प्रविधिको कारणले पनि हालको परम्परागत तामाको तारमार्फत वितरित इन्टरनेट सेवाभन्दा निकै उच्च गुणस्तरको हुन्छ । परम्परागत तामाको तारमार्फत भन्दा अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने भएकोले नै यो प्रविधि हाल विश्वका विकसित देशका सेवाप्रदायक तथा उपभोक्ताले समेत रुचाएका छन् । त्यसकारणले गर्दा विकासशील तथा अल्पविकसित देशहरुमा पनि यो प्रविधि विस्तारको क्रममा रहेको छ ।

यसै क्रममा यो प्रविधि नेपालमा पनि विस्तारको क्रम शुरु भएको छ । यो प्रविधिमार्फत मोबाइल, ल्यान्डलाइन टेलिफोन तथा इन्टरनेट सेवालाई अत्याधुनिक एवं उच्च गुणस्तरको बनाउन सकिन्छ । विभिन्न सेवाप्रदायकमार्फत हाल मुलुकभर नै भ्वाइस सेवा उपलब्ध भइरहेको भए तापनि इन्टरनेट सेवाको पहुँच शहरी क्षेत्रमा बढी केन्द्रित छ । ग्रामीण क्षेत्रको ठूलो जनसंख्या यो सेवाको पहुँचबाट वञ्चित रहेको छ । ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार भइसकेका स्थानमा पनि गुणस्तरीय इन्टरनेट सेवा पुग्न सकेको छैन । हाल नेपाल टेलिकमले विस्तार गरिरहेको फोरजी मोबाइल सेवा र नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार कोषमार्फत आरम्भ भएको अप्टिकल फाइवर नेटवर्क विस्तारपछि दु्रत गतिको इन्टरनेट सेवाको पहुँच ग्रामीण तहसम्म पुग्नेछ । यसले आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने डिजिटल नेपालको परियोजना साकार पार्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्