निर्देशक समुद्रजस्तै हो: सम्राट सापकोटा



३ दशकदेखि रंगमञ्चीय नाटक, टेलिसिरियल, भिडियो फिल्म र ठूलो पर्दाको फिल्ममा अभिनय तथा भिडियो फिल्मको निर्देशन गर्दै आएका रंगकर्मी, अभिनेता तथा निर्देशक सम्राट सापकोटाले पहिलोपटक ठूलो पर्दाको फिल्म निर्देशन गरेका छन्। उनको डेब्यु निर्देशनमा तयार भएको फिल्म कप्स आगामी शुक्रबार अल नेपाल रिलिज हुँदै छ। निर्देशक सापकोटाद्वारा नै लिखित यो फिल्ममा उनले बिग्रँदै गएको प्रहरीको छविलाई सुधार्ने कथा बुनेका छन्। प्रहरीको ‘सत्य सेवा सुरक्षणम्’ नारालाई लिएर बनेको फिल्म तथा यस वरपर रहेर नेपाल समाचारपत्र संवाददाता रश्मी थापाले उनलाई गरेको ५ प्रश्न यहाँ प्रस्तुत छ ः

यति लामो समयपछि बल्ल आएर फिल्म निर्देशन गर्नुको कारण के हो ?

कलाक्षेत्रमा त म सधैं छु। अभिनयमार्फत नै आएको हुँदा यो क्षेत्रमा ग्याप भएको छैन। म रंगमञ्चको कलाकार भएकाले गर्दा त्यतातिर पनि सक्रिय नै छु। फिल्म निर्देशनचाहिँ भर्खरै मात्र गरेको हो। अहिलेको समय उपयुक्त लागेर फिल्म निर्देशन गरेको हो। यसमा त्यस्तो खास कारण भने छैन। यो बेलामै आएर फिल्म निर्देशन गर्छु भन्ने सोच पनि थिएन। तर अहिले आएर फिल्म निर्देशनमा इन्ट्रेस्ट जाग्यो र कप्स निर्देशन गरें।

प्रहरीलाई विषय बनाई प्रहरीकै नारामा फिल्म बनाउनुको कारण के हो ?

यो च्यालेन्जिङ सब्जेक्ट हो। मानिसहरू यस्तो विषयमा फिल्म बनाउन हिचकिचाउँछन्। यस्तो संवेदनशील विषय फिल्ममा उठाउनु चुनौती पनि हुन्छ। फिल्ममा अलिकति पनि त्रुटि भयो भने सिंगो प्रहरी संगठनमै आँच आउँछ। तर मलाई च्यालेन्जिङ कामहरू नै गर्न मन पर्ने भएकाले यो विषयमा फिल्म निर्माण गरेको हो।

कप्स के कारणले हेर्नुपर्छ ?

समसामयिक विषयमाथि बनेको यो फिल्म हाम्रो मुलुकको वर्तमान परिवेशसँग मिल्दोजुल्दो छ। फिल्मले देशको वास्तविक स्थितिको सजिव चित्रण गर्छ। फिल्म प्राविधिकरूपमा उत्कृष्ट छ। यसमा पात्रहरू स्वाभाविक छन् भने उनीहरूको जीवन्त चरित्र देखिन्छ। यी कारणले नै फिल्म पृथक् र यथार्थवादी भएकाले नै दर्शकले कप्स हेर्नुपर्छ। कप्स हेरिसकेपछि यो केबल प्रहरीको फिल्म हो भन्ने पनि लाग्दैन।

अभिनय गर्नु र निर्देशन गर्नुमा कुनचाहिँ सजिलो र कुनचाहिँ कठिन हुँदोरहेछ ?

सबैले महसुस गर्ने कुरा हो। अभिनय र निर्देशनमध्ये अभिनय गर्नु नै सजिलो काम हो। अभिनय गर्नु भनेको अरूको कल्पना र सोचमा प्रस्तुत हुनु तथा पात्रमा सजीवता ल्याउनु हो। तर निर्देशकले फिल्मबारे धेरै कुरा थाहा पाउनुपर्छ। निर्देशक भनेको समुद्रजस्तै हो। उसले क्यामेराको फ्रेम, एंगलदेखि लिएर लोकेसन सजावट, दृश्य आदिबारे गहिरिएर बुझ्नु जरुरी छ। अर्कोतर्फ फिल्मका पात्रहरू उपयुक्त छन् कि छैनन्, उनीहरूले गरेका अभिनय, हाउभाउ ठीक छन् कि छैनन् वा कथाले खोजेको जस्तो छ कि छैन आदि कुराहरू नियाल्नुपर्छ यस कारण निर्देशन सशक्त पाटो हो। यो चुनौतीको काम पनि हो।

अबको तपाईंको यात्रा अभिनयतिर हुनेछ या निर्देशनतिरै अघि बढ्नेछ ?

अबको यात्रा दुवैतिर हुनेछ। म अभिनयबाटै आएको हुँ। अभिनयमै पनि हुनेछु र निर्देशनमा पनि रहनेछु। यी दुवै विधालाई सँगसँगै अघि बढाउँदै आगामी दिनमा निर्देशन यात्रालाई पनि जारी राख्नेछु।

प्रतिक्रिया दिनुहोस्