लोकसभा निर्वाचन जित्ने बलिउड कलाकार



The Union Minister for Textiles and Information & Broadcasting, Smt. Smriti Irani interacting with the media regarding the cabinet approval for the Integrated Scheme for Development of Silk Industry, in New Delhi on March 22, 2018.

‘सास भी कभी बहू थी’ की अभिनेतृले हराइन् राहुल गान्धीलाई भारतको लोकसभा निर्वाचनमा यसपटक पनि बलिउडका चर्चित हस्तीहरूले प्रत्यक्षरूपमा उम्मेदवार दिएका थिए। जसबाट केही कलाकार जनताको मत पाएर संसाद भएका छन् भने केहीले असफलता झेल्नुपरेको छ।

नरेन्द्र मोदी सरकारकी मन्त्रीसमेत रहेकी टेली सिरियल अभिनेतृ स्मृति इरानीले कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई नै पराजित गरिदिइन्। कांग्रेस पार्टीको वर्चश्व रहँदै आएको अमेठी निर्वाचन क्षेत्रबाट राहुल गान्धी ३ पटक सांसद बनेका थिए भने त्योभन्दा पहिले सो क्षेत्रबाट उनकी आमा सोनिया गान्धी विजय भएकी थिइन्। पहिलेदेखि नै उत्तर प्रदेशको यो निर्वाचन क्षेत्रमा गान्धी परिवारका हस्तीहरूले जित्दै आएका थिए। जुन क्षेत्रलाई सञ्जय गान्धी र पूर्वप्रधानमन्त्री राजीव गान्धीले गान्धी परिवारको गढका रूपमा स्थापित गरेका थिए। स्मृति पूर्वमोडल टेलिभिजन अभिनेतृ तथा निर्मात्री हुन्। उनी क्योंकी सास भी कभी बहू थीबाट लोकप्रिय थिइन्। सन् २०१४ मा बनेको नरेन्द्र मोदीको सरकारमा पहिलो मानव संसाधनमन्त्री भएकी उनी पछि सूचना प्रसारणमन्त्री र त्यसपछि कपडामन्त्री भएकी थिइन्।

यो निर्वाचनमा अभिनेता सनी देओलले पहिलोपटक राजनीतिक दलमा प्रवेश गरी भारतीय जनता पार्टीमामार्फत उम्मेदवारका रूपमा पञ्जाबको गुरुदासपुरबाट उम्मेदवार दिएका थिए। विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको उक्त क्षेत्रमा भारतीय जनता पार्टीबाट विजयी हुने ४ सांसदमध्ये सनी देओल एक हुन्। जहाँ कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १ सय ७ मतले पराजित गरे।
यसअघि उक्त प्रदेशबाट अभिनेता विनोद खन्नाले भाजपामार्फत राजनीति गर्दै आएका थिए। सन् १९९८ मा पहिलोपटक लोकसभामा विजयी खन्ना बलिउडबाट सबैभन्दा बढी ४ पटक लोकसभा निर्वाचन जित्ने कलाकार हुन्। सन् २०१७ मा उनको निधन भएपछि उक्त स्थानबाट सनीले उम्मेदवार दिएका थिए।

सनीकी आमा अभिनेतृ हेमा मालिनी भारतीय जनता पार्टीबाट निर्वाचित भएकी छिन्। मथुरा क्षेत्रबाट उम्मेदवार दिएकी उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४ सय ७१ मतले पराजित गरिन्। यसभन्दा अघिको चुनावमा पनि हेमा विजयी भएकी थिइन्। हेमा आफ्नो संसदीय क्षेत्रमा चुनाव प्रचारप्रसारका क्रममा कामकाजी महिलाहरूसँग गहुँ काट्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भोजपुरी फिल्मका लोकप्रिय नायक रवि किशन उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट विजयी भएका छन्। भारतीय जनता पार्टीमार्फत उम्मेदवार दिएका उनी ३ लाख १ हजार ६ सय ६४ मतान्तरले विजयी भएका हुन्।

उता भारतीय जनता पार्टीका उम्मेदवार गायक बबुल सुप्रियोले बंगाली अभिनेतृ मुनमुन सेन आसनसोललाई पराजित गरेका छन्। त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन करिब २ लाख मतले पराजित भएकी हुन्। भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी उत्तर पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका थिए। उनले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई साढे ३ लाखभन्दा बढी मतले पराजित गरेका छन्।

चरित्र अभिनेतृ किरण खेरले कांग्रेस नेता पवनकुमार वंशललाई ४६ हजार ९ सय ७० मतले पराजित गरिन्। चन्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी खेर भारतीय जनता पार्टीबाट निर्वाचित भएकी हुन्। यसअघि पनि उनी उक्त क्षेत्रबाटै निर्वाचित भएकी थिइन्। कन्नड अभिनेतृ सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरेकी छिन्। १ लाख २५ हजारभन्दा बढी मतले निखिललाई पराजित गरेकी सुमनलता निर्दलीय उम्मेदवार हुन्।

भारतीय जनता पार्टी छोडेर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हा भने पराजित भएका छन्। पटना साहिव निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग करिब ३ लाख मतले पराजय झेल्दै पराजित भएका हुन्। हालै राजनीतिमा प्रवेश गरेकी बलिउड नायिका उर्मिला मातोडकर कांग्रेस पार्टीबाट उत्तर मुम्बई क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्, तर उनी पनि पराजित भएकी छिन्। भारतीय जनता पार्टीका गोपाल शेट्टीले उनलाई ४ लाख ६५ हजार २४७ मतले पराजित गरेका हुन्।

भारतीय जनता पार्टीमा प्रवेश गरेकी अर्की अभिनेतृ जया प्रदा समाजवादी पार्टीका नेता आजम खानसँग १ लाख ९ हजार ९ सय ९७ मतले पराजित भइन्। यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी जया भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन्। आगराको फतेहपुर सिकरी क्षेत्रबाट उम्मेदवार भएका अभिनेता राज बब्बर पनि पराजित भएका छन्। भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए। बेंगलुरु सेन्ट्रल क्षेत्रबाट निर्दलीय उम्मेदवार बनेका दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज ५ लाख ७३ हजारभन्दा बढी मतले पराजित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्