मेलौलीमा खानेपानीको चरम समस्या



विनोदसिंह विष्ट, बैतडी
सुख्खायामको शुरुवातसंगै बैतडीको मेलौलीमा खानेपानीको चरम समस्या भएको छ । काँडा बजार र आसपासका गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीयहरुले बताएका छन् ।

खानेपानी अभाव हुँदा होटल व्यवशायी, भाडामा बस्दै आएका कर्मचारी, विद्यार्थी र स्थानीय बासिन्दा निकै समस्यामा परेका छन् । खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाइले बताउनुभयो ।उहाँले भन्नुभयो“ दैनिक २० लिटर मात्रै पानी धाराबाट पाइने र गाईवस्तु तथा अन्य प्रयोजनका लागि पानीको खोज्नुपर्ने बाध्यता छ”

प्रत्येक बर्ष सुख्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीय गंगासिंह नायकले बताउनुभयो । उहाँले भन्नुभयो“ खानेपानीको अभावमा प्रत्यके बर्ष भौतारिनुपर्ने अवस्था रही आएको छ”

काँडाबजारमा खानेपानीको चरम समस्या हुँदा होटेल व्यवसाय नै बन्द गर्नुपर्ने स्थिती आएको होटेल व्यवसायी सीता चन्दले बताउनुभयो । उहाँले भन्नुभयो“ पानीको अभावमा होटेल व्यवसाय नै चौपट छ , खानेपानीको अभावमा धेरै समस्या झेल्नुपरेको छ ”

मेलौलीमा वि स २०४० सालमा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुँदा र मूहानमै पानी कम हुँदा पानीको हाहाकार भएको हो । स्थानीय सरकारले पनि खानेपानीको समस्या समाधान गर्न नसक्दा स्थानीयबासिन्दाहरु निराश भएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्या समाधान हुने आस गरेको भएपनि समस्या समाधान हुन नसकेको स्थानीय केशवसिंह भाटले जानकारी दिनुभयो । नगरक्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि सुर्नया नदीबाट लिफ्टिङ प्रणालीबाट खानेपानी ल्याउने तयारी भईरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो ।

ठूलो प्रोजेक्ट भएकाले केही समय भने लाग्ने नगरप्रमुख नायकको भनाई छ । मेलौलीमा खानेपानीका लागी सुख्खायामको समयमा हरेक बर्ष समस्या हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्