नाडालको चुनौती फेडेरर र जोकोभिच



पेरिस, (एजेन्सी)
मे २६ देखि वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता फेन्च ओपन शुरु हुँदैछ । जसमा पुरानै खेलाडीलाई उपाधि दावेदार मानिएका छन् । जसमध्ये क्ले कोर्ट किङ्ग उपनामले परिचित राफाल नाडाल उपाधि होडमा सबैभन्दा अगाडि छन् । स्पेनका नाडाल १२औं पटक फ्रेन्च ओपन उपाधि जितेर नयाँ कीर्तिमान रच्ने दाउमा छन् । तर अर्कोतिर उनलाई रोक्न अर्का नामी खेलाडी रोजर फेडेरर पनि राम्रो तयारीका साथ यस पटक रोलान्ड गेरोसमा उत्रने छन् ।

स्विट्जरल्यान्डका फेडेररले ४ वर्षपछि फ्रेन्च ओपनमा खेल्ने पक्का गरेको हो । यसअघिका नतिजालाई आधार मान्ने हो भन्ने फेडेरर उच्च फर्ममा रहंदा पनि नाडाललाई फ्रेन्च ओपनको फाइनलमा हराउन नसकेको इतिहास रहेको छ । उनले सन् २००६, २००७, २००८ र २०११ का फाइनल खेल नाडालसँगै गुमाएका थिए । तर सन् २००९ मा भने नाडाल फाइनल पुग्न नसकेको संस्करणमा फेडेररले अहिलेसम्मकै एकपटक मात्र फेन्च ओपनको उपाधि उचालेका छन् ।

त्यसैगरी टेनिसका अर्का विश्व चर्चित खेलाडी हुन् नोभाक जोकोभिच । सर्बियाका यी खेलाडीको चुनौती पनि नाडालका लागि सहज हुने छैन् । त्यसो त नाडालले फ्रेन्च ओपन फाइनलमा जोेकोभिचलाई सन् २०१२ र २०१४ मा पराजित गरेर आफूलाई अब्बल साबित गरिसकेका छन् । फेडेररले झैं जोकोभिचले पनि सन् २०१६ मा एकपटक मात्र फ्रेन्च ओपन उपाधिमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यसपटक उनी पनि दोस्रो पटक उपाधिको खोजीमा रोल्यान्ड गेरोसमा देखिने छन् ।

यी तीनै जनाले विगतमा गरेको प्रदर्शनलाई मूल्याङकन गर्ने हो भने सर्वाधिक ग्रान्डस्लाम जित्ने ३७ वर्षीय फेडेरर अग्रपंक्तिमा छन् । उनले २० वटा ग्रान्डस्लाम जितेर सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि जित्ने सूचीको पहिलो स्थान ओगटिरहेका छन् । तर नाडाल पनि उनी भन्दा धेरै पछाडि भने छैनन् । १७ वटा ग्रान्डस्लाममा उनले आफ्नो नाम लेखाइसकेका छन् । जोकोभिचको ग्रान्डस्लाम उपाधि संख्या भने १५ रहेको छ ।

ग्रान्डस्लाम संख्या फेडेररको भन्दा अधिक रहेपनि नाडाललाई क्ले कोर्टमा हराउन भने निकै कठिन हुनेछ । उनले केही दिनअघि मात्र सम्पन्न इटालियन ओपन पनि जितिसकेका छन् । जसमा उनले जोकोभिचलाई नै हराएका थिए । त्यसैले पनि उनलाई फ्रेन्च ओपनको बलियो दावेदारको रुपमा मानिएको हो । ३२ वर्षीय नाडालले गत वर्ष ११औं पटक फ्रेन्च ओपन उपाधि जितेका थिए । एउटै ग्रान्डस्लाम ११ पटक जित्ने नाडाल दोस्रो खेलाडी बनेका छन् । यसअघि मार्गेरेट कोर्टले १९६० देखि १९७३ को बीचमा ११ पटक अस्टे«लियन ओपन जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्