हिन्दुराष्ट्रको पक्षमा अभियान थाल्न महामन्त्री कोइरालाको निर्देशन



नेपाल समाचारत्र, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

पर्वतको कुस्मामा आयोजित बिराट गुप्तेश्वर कोटीहोम तथा तुलादान महायज्ञको समापन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि अभियान सञ्चालन गर्न निर्देशन दिदै अभियानमा आफ्नो साथ सहयोग रहने बताउनुभएको हो ।

उनले धार्मिक स्वतन्त्रता हुने तर हिन्दु धर्ममाथि भएको आक्रमणका बिरुद्ध अभियान थाल्नुपर्ने बताउनुभयो । ‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौँ ।, उहाँले भन्नुभयो ‘तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’

उहाँले धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि दोहो¥याउनुभयो । ‘काँग्रेसको महामन्त्रीको हैसियतले भन्दै छु । हाम्रो पार्टीको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हो । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । धर्म न सापेक्ष न निरपेक्ष, स्वतन्त्र हुन्छ,’ उहाँले भन्नुभयो ।

आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दु संस्कारबाट आएको उहाँको भनाई छ । महामन्त्री कोइरालाले बेलाबेला हिन्दुराष्ट्र हुन पर्छ भनेर टिकाटिप्पणी गर्दै आउनुभएको छ । भारतमा सम्पन्न लोक सभा निर्वाचनमा हिन्दुवादी पार्टी भाजपाले चुनाव जितेपछि काँग्रेस महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कार्यत्रममा बोल्दै पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले भने धार्मिक सहिष्णुता बढाउन यस्ता महायज्ञहरु फलदायी बन्ने बताउँदै धर्मका नाममा राजनिती नर्गन आग्रह गर्नुभयो । उहाँले धार्मिक सहिष्णुता बिग्रेमा देश गृहयुद्धमा जाने खतरा रहने तर्फ सबै सचेत हुनुपर्छ भन्नुभयो ।

माता पार्वतीको जन्मथलोको रुपमा रहेको पर्वतमा मा विश्वकै ठूलो शिव पार्वतीको मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिस महल बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा झण्डै ५ करोड रुपैंया संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्