सामाजिक हितका लागि सबैको सहकार्य हुनुपर्ने



काठमाडौं ।
सामुदायिक प्रहरी सेवा केन्द्र काठमाडौं–४ टुँडालदेवीको आयोजनामा शनिबार शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा स्थानीय समुदाय, वडाबासी, जेष्ठ नागरिक, स्थानीय प्रतिनिधि र प्रहरीसँग अन्तरक्रिया भएको छ ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खडगीले कार्यक्रमको उद्घाटन गर्दै १८ वर्षपछि महानगरले जनप्रतिनिधि पाएको भन्दै धुलोमुक्त र ढलमुक्त काठमाडौ बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले २१औं शताब्दीमा बरदानको रुपमा रहेको इन्टरनेटको सामाजिक सञ्जालले समाजलाई विकृति ल्याएकाले यसलाई सदुपयोग गरेर प्रविधिको फाइदा लिन अभिभावक र समाजले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा सम्मानित हुनुभएका प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरी जनताका लागि भएको र प्रहरी र जनता मिलेर नै समाजको विकास हुने बताउनुभयो । महानगरपालिकाका वडा नं ४ का अध्यक्ष मोहनबहादुर बिष्टले वडाले वडाको विभिन्न स्थानमा रहेका सरकारी जग्गाको खोजी गरिरहेको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले समाजमा अपराध रोकथाम रोक्न, सामाजिक विकृति एवं विसंगति विरुद्ध जनचेता फैलाउन , स्थानीय जनसहभागिताबाट सामुदायिक सुरक्षा अभिबृद्ध गर्न केन्द्र लागिपरेको बताउनुभयो । न्यौपानेले सबैको साझा हितका लागि स्थानीय स्तरबाट नै सहयोग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । टोलसमाज सुव्यवस्थित भएमात्रै देश सुरक्षित बन्ने हुँदा बर्दी नलगाएका नागरिकले पनि समाज विकासको लागि चासो राख्नुपर्ने न्यौपानेले बताउनुभयो । अन्तरक्रियामा स्थानीयले टोलमा रहेका समस्याबारे सम्बन्धित व्यक्तिहरुँंग जिज्ञासा राखेका थिए ।

अन्तरक्रियामा सामुदायिक सेवा केन्द्रका पूर्व अध्यक्ष तथा सल्लाहकार अच्युत सापकोटा , पूर्व उपरथी यादबबहादुर रायमाझी, पूर्व उपरथी तथा सल्लाहकार शिवराम प्रधान, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाह, समाजसेवी , क्लबका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जेष्ठ नागरिकलगायतले टोलको बिकास र शान्ति सुरक्षाका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्