महायज्ञमा दान गर्न प्रतिष्पर्धा, दश दिनमा चार करोड




नेपाल समाचारपत्र, पर्वत ।
माता पार्वतीको जन्मथलो पर्वतको पाङ्ग र महादेबलाई पतिको रुपमा पाउँ भनेर तपस्या गरेको बिश्वास गरिएको गुप्तेश्वर गुफा परिसरमा सञ्चालित बिराट गुप्तेश्वर शिबपुराण कोटिहोम तथा तुलादान महायज्ञमा दान गर्नेहरुका बिचमा प्रतिष्पर्धा चलेको छ ।

पाङ्ग र गुप्तेवरमा बिश्वकै सबैभन्दा अग्लो शिब पार्वतीको मुर्ति बनाउने सहितका लक्ष्य राखेर सञ्चालन भएको महायज्ञमा दान पर्ने हरुका बिचमा प्रतिष्पर्धा भएका कारण दश दिनमै चार करोड भन्दा बढी संकलन भएको छ ।

घर अघिल्तिरै शिवपार्वतीको बिश्वकै अग्लो मूर्ति बन्ने भएपछि कुस्मा–४ का सागर कर्माचार्यले एक रोपनी जग्गा गुप्तेश्वर गुफा धार्मिक पर्यटकीय समितिलाई दान गर्नुभयो । बजार क्षेत्रको उनको जग्गा प्रचलित मूल्यअनुसार कम्तीमा ५० लाख पर्छ । गुप्तेश्वरलाई धार्मिक पर्यटकको हब बनाउनका लागि उहाँले महत्वपुर्ण जमिन दान गरेको बताउनुभयो । ‘धार्मिक र पर्यटकीय हबको रुपमा बिकास गर्नका लागि हाम्रो परिवारको तर्फबाट सानो सहयोग गरेका हौ’ उहाँले भन्नुभयो ।

कोकोटिहोम दुर्लभ यज्ञ भएको भन्दै ब्यबसायी बिप्लब हमालले ५ लाख दान गर्नुभयो । गुप्तेश्वर मात्रै होइन कालीगण्डकी नदी किनारका तीर्थस्थल र धामहरुलाई प्रचार गरेर जनकपुर जस्तै पार्वतीको जन्मथलोलाई परिचित गराउन आफुँले दान गरेको हमालको भनाई छ । पर्वतलाई धार्मिक हब बनाउन जिल्लाबासीले दान गर्ने कुरा नौलो भएन लमजुङको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले ३ लाख एक हजार एक सय ११ रुपैयाँ दान गर्नुभयो ।

कुस्माको गुप्तेश्वर गुफाको प्रचार गरि आकर्षक धार्मिक पुर्वाधार बनाउने गरि जेठ १ देखि कुस्मा बजारमा ११ दिने कोटिहोम महायज्ञ आयोजना गरिएको हो । हिन्दु धर्मका ग्रन्थहरुमा वर्णन हुने शिव र पार्वतीको सम्बन्धसँग जोडिएको गुप्तेश्वर गुफालाई धार्मिक महत्त्व बढाउन र विभिन्न पूर्वाधार निर्माण गर्न आयोजना गरिएको महायज्ञको उद्देश्य अनुसार सबै कुरा सफल भएको मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

यज्ञबाट संकलित रकमबाट शिवपार्वतीको मूर्तिका साथै तीर्थयात्रीका लागि २०८ कोठाको अत्याधुनिक भवन निर्माण गर्ने आयोजक समितिका मूल संयोजक पृथ्वीनारायण शर्माले बताउनुभयो  । ‘पार्वतीको जन्मथलो पाङ भएको कुरा प्रचार भएकै छैन,’ उहाँले भन्नुभयो ‘शिवको बासस्थान र पार्वतीले तपस्या गरेर शिवलाई पाएको यही भूमि हो भनेर चिनाउन आवश्यक छ , यज्ञपछि बन्ने संरचनाले त्यो पुष्टि गर्न थप बल पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्