इंग्ल्यान्ड फेरि चुक्यो, अस्टे«लिया विश्व च्याम्पियन



लन्डन, (एजेन्सी)
लगातार तीन विश्वकपको आयोजना गरेको इंग्ल्यान्ड पहिलो पटक आफ्नो मैदानभन्दा बाहिर फाइनल खेलेको थियो। १९७५, १९७९ र १९८३ को क्रिकेट विश्वकप इंग्ल्यान्डमा आयोजना भएको थियो। यसको बाबजुद क्रिकेटको जन्मदाता इंग्लिस टोलीले ती तीनै प्रतियोगितामा उपाधि भने हात पार्न सकेको थिएन र अहिलेसम्म उनीहरू पहिलो विश्वकपको खोजीमै छन्। ३० मे देखि शुरू हुने विश्वकप पनि इंग्ल्यान्डमै हुन लागेको छ। सायद यसपटक उनीहरू भाग्यशाली हुन्छन् कि?

प्रतियोगितामा के के भए ?
— भारतका चेतन शर्माले न्युजिल्यान्डविरुद्ध बलिङमा ह्याट्रिक गरे। 
— विश्वकपको इतिहासमा यो पहिलो ह्याट्रिक थियो। 
— भारतका नवजोत सिद्धुले प्रतियोगिताभरि सर्वाधिक ९ छक्का प्रहार गरे। 
— सिद्धुले प्रतियोगितामा लगातार ४ अर्धशतक पनि प्रहार गरे।
१९८७ को क्रिकेट विश्वकप पाकिस्तान र भारतले संयुक्तरूपमा आयोजना गरेका थिए। तर दुवै आयोजक टोलीको यात्रा सेमिफाइनलसम्म रहेको थियो। कोलकाताको इडेन गार्डेन्समा भएको फाइनल खेलमा अस्टे«लियाले इंग्ल्यान्डलाई ७ रनले हराएको थियो। पहिलो पटक रिलायन्सले प्रायोजन गरेको उक्त विश्वकप जितेपछि अस्टे«लियाले अहिलेसम्म सर्वाधिक ५ पटक उपाधिमाथि कब्जा गरिसकेको छ।
चौथो संस्करणको प्रतियोगिताको फाइनलमा अस्टे«लियाले पहिले ब्याटिङ रोजेर निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५३ रन जोडेको थियो। जसमा ओपनर डेविड बुनले १ सय २५ बलको सामना गर्दै ७ चौकाको मदतमा ७५ रन बनाएका थिए। त्यस्तै माइक भेलेटाले ४५ रनको योगदान दिएका थिए। अन्तिम ६ ओभरमा ६५ रन बटुल्नु नै अस्टे«लियाका लागि पहिलो विश्वकप उपाधि जित्न सहयोग मिलेको थियो।
जवाफमा इंग्ल्यान्डका बील एथीले ५८ रन, एलेन लेम्बले ४५ रन र माइक गेटिङले ४१ रन बनाउनुबाहेक अन्यले खासै उल्लेखनीय ब्याटिङ प्रदर्शन गर्न सकेनन्। फलस्वरूप इंग्ल्यान्ड २ सय ४६ रनमा समेटिएको थियो। अन्तिम ओभरमा जितका लागि इंग्ल्यान्डलाई १७ रनको जरुरी भएको थियो। तर अस्टे«लियाले हातमा आइसकेको उपाधि छिन्न दिएन। इंग्ल्यान्ड फेरि एकपटक उपाधिबाट विमुख हुनुपरेको थियो। यो फाइनल खेल करिब ९५ हजार दर्शकले हेरिएको थियो भने आयोजक राष्ट्र भारत इंग्ल्यान्डसँग र अर्को आयोजक राष्ट्र पाकिस्तान अस्टे«लियासँग हारेका थिए। योसँगै भारतले १९८३ मा देखाएको चमत्कार आफ्नै घरेलु मैदानमा देखाउन सकेन।

प्रतिक्रिया दिनुहोस्