फुल कन्ट्याक्ट करातेमा २ सय खेलाडी



काठमाडौं, (नेस)
सोमबारदेखि हुने नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको आयोजनामा प्रथम मेयर कप आईकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता हुने भएको छ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानबाट त्यति संख्याको खेलाडी सहभागी हुने आयोजक आईकेकेएफ नेपालका प्रमुख सल्लाहकार राम श्रेष्ठ (बोस)ले अपेक्षा गरेका हुन्। कार्यक्रमका संयोजकसमेत रहेका बोसले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी गराए। भारतबाट ६५, बंगलादेशबाट ८, पाकिस्तानबाट ३ र अफ्गानिस्तानबाट २ खेलाडीको सहभागिता रहनेछ। बाँकी खेलाडी नेपालका रहनेछन्।
थिमीस्थित दुई पोखरीमा हुने दुईदिने प्रतियोगितामा पुरुषमा ५ तथा महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितालाई मध्यपुर थिमी नगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ। नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रतियोगिताका लागि ७ लाख रुपियाँ उपलब्ध गराउने बताए। प्रतियोगिता सञ्चालन गर्न करिब २८ लाख रुपियाँ खर्च हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्