पीएम कपमा आर्मीको शानदार जित



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले प्रदेश २ लाई १ सय ७१ रनले हराएर सुखद शुरुआत गर्यो। विभागीय टोलीले पहिले ब्याटिङ गर्र्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो। जसमा राजु रिजाल र विनोद भण्डारीले अर्धशतक प्रहार गरेका थिए। राजु १० रनले शतकबाट चुके भने विनोदले ६७ रनको योगदान दिएका थिए। उनीहरूले पहिलो विकेटका लागि १ सय २१ रनको सानदार साझेदारी गर्नु नै टोलीको बलियो स्कोर बनेको थियो। प्रदेश २ का हरिशंकर शाहले ३ तथा रसिद खान, विशाल सुस्लिग, सामसद शेख र विवेक यादवले एक–एक विकेट लिए।
जवाफमा प्रदेश २ ले ३१ दशमलव ४ ओभरसम्म संघर्ष गरे पनि १ सय ७ रनमै समेटिनुपरेको थियो। आर्मीका बलर सहाब आलमले २९ रन दिएर ४ तथा सुसन भारीले २० रन खर्चेर ३ विकेट हासिल गर्दै प्रदेशलाई दबाबमा राखेका थिए। यस्तै जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट लिएका थिए। प्रदेशका लागि ओपनर हरिशंकर शाहले सर्वाधिक २१ रन जोडे। २८ बल खेलेका उनले ४ चौका प्रहार गरे। यस्तै सामसद शेख १६, सुधीर चौधरी १५ र राशिद खान १४ रनमा आउट भए।

प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउने व्यवस्थापक नेपालयका अध्यक्ष प्रधानले बताए। क्याचको प्रायोजकका रूपमा एक्सपर्ट रहेको छ। १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपियाँ राखेपले उपलब्ध गराउनेछ। त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ।

प्रतिक्रिया दिनुहोस्