सगरमाथाको उचाइ नापेर फर्कियो सरकारी टोली, वास्तविक उचाइ कति होला त ?



दीपेन्द्र थापा, काठमाडौं
गरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली काठमाडौ फर्किएको छ। गत जेठ ८ गते विहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको नापी विभागको टोलीलाई शुक्रबार काठमाडौं स्वागत गरिएको छ।

२०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्ने निर्णय गरेको थियो। जसअनुसार गत चैत २७ गते नापी विभागको टोली आधार शिविर प्रस्थान गरेको थियो। टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गर्नुभएको थियो।

मापन टोलीलाई स्वागत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले टोलीले आफनो लक्ष्य पूरा गरेर सकुसल फर्किएकोमा खुशी व्यक्त गर्नुभयो। नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा सगरमाथाको उचाई मापन गर्नु आफैंमा गौरवमय भएको बताउँदै मन्त्री अर्यालले अन्तराष्ट्रिय स्तरमा नेपाल स्वालम्बी बन्दै गएको सन्देश जाने बताउनुभयो।

‘सरकारी टोलीले सगरमाथाको चुचुरोमा नै पुगेर सर्भेको काम सकेको छ। अब सर्भेबाट प्राप्त तथ्यांकलाई अध्ययन र अनुसन्धान गरी आगामी छ महिनामा सगरमाथाको उचाई निक्यौल गरिनेछ,’ उहाँले भन्नुभयो। तथ्यांक अध्ययन र अनुसन्धान गर्ने प्रविधि नापी विभागसँग नै रहेको जनाइएको छ। मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सगरमाथामा पुगेर उचाई मापन गर्नु सामान्य विषय होइन, उहाँहरु सफल हुनुभएको छ। उहाँको साहस प्रशंसनीय नै छ उहाँले भन्नुभयो। टोलीले तेस्रो पोलमा रहेर ५२ वटा स्याटलाइटबाट सर्भे गरेको थियो। जुन निक्कै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ।

कार्यक्रममा बोल्दै मापन टोलीका प्रमुख नापी विभागका अधिकृत खिमलाल गौतमले सरकारले आपूmलाई सगरमाथाको उचाई मापन गर्ने जस्तो गौरवमय कार्य सुम्पेकोमा आभार प्रकट गर्नुभयो।‘काम सामान्य थिएन तर जाने समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्वास्थ्य, मौसम र गाइडले भनेको कुरा मान्नु भनेर बिदा गर्नुभयो। मन्त्री पद्मा कुमारी अर्यालले आधार शिविरमा नै पुगेर हौसला बढाउनुभयो। जसले हामीलाई हौसला दियो,’ उहाँले भन्नुभयो।

जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो। जुन अत्यन्तै साहसीपूर्ण भएको टोलीका पथप्रदर्शक छिरिङ जाङ्बु शेर्पाले बताउनुभयो। ‘चुचुरोमा बसेर अध्ययन गर्नुपर्ने थियो। टोलीमाथि बसेर सगरमाथाको अध्ययन गर्यो,’ उहाँले बताउनुभयो। फर्किने क्रममा सगरमाथामा ट्राफिक जाम भएर करिब दुई घण्टा पर्खनु परेको उहाँले बताउनु भयो। जामका कारण अनुमानित समयभन्दा बढी समय लागेकाले टोलीका एक सदस्यलाई अक्सिजनको अभाव भएपछि अर्का आरोहीर्ले सहयोग गरे,’ उहाँले भन्नुभयो।

सगरमाथाको उचाई मापनका लागि नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा चार जनाको टोली गएको थियो। जसमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल थिए। टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो।

सगरमाथाको उचाई मापन कार्य परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जीएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ। सगरमाथाको आरोहणपछि तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांक प्राप्त भएपछि तथ्यांकलाई प्रशोधन गरी विश्व सामु प्रस्तुत गरिने मन्त्रालयले बताएको छ।

गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य रहेर शिखरको आरोहण गर्नु भएको थियो। टोलीमा तालीम प्राप्त शेर्पा प्राविधिक र नेसनल जोग्राफीका प्रतिनिधिले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जीएनएसएस) मेसिनले उचाईको तथ्यांक संकलन गरेको थियो।

संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाई करिब १७० वर्षअघि मापन भएको थियो। सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८ हजार ८ सय ४० दशमलव ५० मिटर उचाई मापन गरेको थियो। तर, त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो। सन् १९५४ मा सर्भे अफ इण्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मापन गरेको थियो। अहिलेसम्म यसैलाई आधिकारिक उचाई पनि मानिन्छ। सन् १९७५ मा चीनले ८ हजार ८ सय ४८ दशमलव १३ मिटर मापन गरेको थियो।

इटालियन सर्वेभरले सन् १९९२ मा ८ हजार ८ सय ४८ दशमलव ६५ मिटर उचाई मापन गरेको थियो। अमेरिकाले सन् २००० मा ८ हजार ८ सय ५० मिटर उचाई मापन रहेको उल्लेख गरेको थियो भने सन् २००५ मा चीनको नेसनल ब्युरो अफ सर्भे एन्ड म्यापिङले ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर उचाई मापन गरेको थियो।

नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकी लगायत काठमाडौं वरिपरिका डांँडाहरूलाई आधार मानेर सर्भे गर्दा शून्य दशमलव ९१ मिटर करिब १ दशमलव ०० मिटर उचाई बढेको बताएको थियो। २०७२ सालको भूकम्पका बेला सगरमाथा बेस क्याम्पमा हिम पहिरो जाँदा १२ जनाको मृत्यु भएको थियो। नापनक्सा सम्बन्धी वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय कार्यशालाको सुझावअनुसार सगरमाथाको उचाई जीएनएसएस प्रविधिलाई नाप्ने निर्णय भएको थियो।

सरकारमाथाको उचाई सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८ हजार ८ सय ४० दशमलव ५० मिटर मापन गरेको थियो भने सन् १९५४ मा सर्भे अफ इण्डियाले ८ हजार ८ सय ४८ मिटर मापन गरेको थियो। अहिलेसम्म यसैलाई आधिकारिक मानिन्छ। त्यसपछि सन् १९७५ मा चीनले ८ हजार ८ सय ४८ दशमलव १३ मिटर मापन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्