बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा



लन्डन, (एजेन्सी)
बेलायती प्रधानमन्त्री टेरेजा मेले आगामी जुन ७ गते देखि लागू हुने गरी कन्जर्भेटिभ पार्टीको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दै शुक्रबार नयाँ प्रधानमन्त्रीका लागि मार्ग प्रशस्त गरेकी छिन्। आगामी जुनमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्दासम्म पनि टेरेजा नै प्रधानमन्त्री रहने भएकी छिन्।

डाउनिंग स्ट्रिटमा निकै भावुक मुद्रामा देखिएकी मेले सन् २०१६ को युरापेली संघबारे जनमसंग्रहको परिणामलाई सम्मान गर्न आफूले सक्दो प्रयास गरेको बताएकी छिन्।
साथै उनले ब्रेक्जिटलाई निकास दिन नसकेकोमा गहिरो दुःख प्रकट गरेकी छिन्।

कन्जर्भेटिभ नेतृत्वको चयनका लागि आगामी दिनमा प्रतिस्पर्धा चलिरहँदासम्म उनले आफूले प्रधानमन्त्रीका रूपमा आफ्नो काम जारी राख्ने पनि बताएकी छिन् । ब्रेक्जिटबारे उनको योजनाका लागि उनले आफ्नै पार्र्टीको बहुमत रहेको संसद्बाट आलोचना बेहोर्नुपरेको थियो।

जुन ७ मा मेले पार्र्टीको नेताबाट राजीनामा दिएपछि त्यसको अर्को सातादेखि नयाँ नेता चयनको प्रक्रिया शुरु हुने बताइएको छ। उनले राष्ट्रको नाममा अन्तिम सम्बोधन गर्ने क्रममा बेलायतको दोस्रो महिला प्रधानमन्त्रीको रूपमा राष्ट्रे सेवा गर्न पाएकोमा गौरव महशुस गरेको उल्लेख गरेकी छिन्।

करिब ३ वर्ष प्रधानमन्त्रीका रूपमा कार्यरत रहेकी उनले सो सम्बोधनका क्रममा सरकारले गरेका राम्रा कामहरूको बारेमा वकालत गरेकी छिन्।
राजनीतिक विश्लेषकले मेपछि पूर्वविदेशमन्त्री बोरिस जोहन्सन बेलायतको भावी प्रधानमन्त्री बन्ने सम्भावना प्रबल रहेको बताइएको छ। हुन त यस पदका लागि थुप्रै सम्भावित दावेदार रहेका छन्। ती सम्भावित राजनीतिक व्यक्तित्वमा रोरी स्टेवर्ट, जेरेमी हन्ट, माइकल गोभ, पेन्नी मोरडन्ट र साजिद जाभेद पनि रहन सक्ने अनुमान गरिएको छ।

युरोपेली संघका नेताहरूले टेरेजा मेको ‘साहस’ र ‘दृढता’ को प्रशंसा गरेका छन्। तर फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्राँेले भने बे्रक्जिटबारे यथाशिघ्र स्पष्ट धारणा अघि सार्न आ≈वान गरेका छन्। म्याक्रोँले टेरेजा मेको राजीनामाको घोषणालाई प्रतिक्रिया दिँदै भनेका छन्– ‘मेले ब्रेक्जिटको विषयमा साहसिलो काम गरेकी छिन्। तर युरोपेली संघलाई सुचारु ढंगले सक्रिय राख्नका लागि यसबारे छिटो स्पष्टोक्ति दिइनुपर्दछ। ’

यसअघि युरोपेली संघको आयोगका अध्यक्ष जिन क्लाउड जन्करले ईयूबाट बाहिरिन संयुक्त अधिराज्यले सन् २०१६ मा गरेको मतदानलाई लिएर ईयू असफल भएको बताएका थिए।

वेस्टमिनिस्टर विधायकहरूले तीनपटक अस्वीकार गरेपछि बल्ल गत वर्षको नोभेम्बरमा प्रधानमन्त्री मेको ईयूसंग बे्रक्जिटबारे सहमति भएको थियो। बे्रक्जिटका लागि ईयूका प्रमुख मध्यस्थकर्ता मिचेल बार्नियसले पनि मेको साहसपूर्ण कामको प्रशंसा गर्दै उनीप्रति सम्मान प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्