दोस्रो कार्यकालका मोदीको शपथ ग्रहण बिहीबार



नयाँदिल्ली, (एजेन्सी)
भारतमा भर्खरै सम्पन्न आमनिर्वाचनमा प्रचण्ड बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्र्र्टी (भाजपा) विजयी भए लगत्तै अर्को पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार शपथग्रहण गर्ने भएका छन््।

कूल ५ सय ४२ सिटका लागि सात चरणमा भएको यस निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्र्टी भाजपा एक्लैले मात्र ३ सय ३ सिट जितेको छ भने उसको गठबन्धनले ३ सय ४९ सिटमा विजय हात पार्न सफल भएको छ।

यस अघिको सन् २०१४ को लोकसभाको चुनावमा भाजपाले २ सय ८२ सिट मात्र जितेको थियो। संसदमा बहुमत कायम गर्नका लागि कुनै पनि पार्टीलाई कूल २ सय ७२ टिको आवश्यकता हुन्छ। तीन दशक यता भाजपाले यति ठूलो संख्यामा सिट जित्न सफल भएको हो। राहुल गान्धीको नेतृत्वमा रहेको विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले यसअघिको चुनावमा केवल ५४ सिट मात्र जित्न सकेको थियो। यसपालि पनि यस पार्टीले अर्थपूर्ण उपलब्धि हासिल गर्न सकेन।

यसैबीच आफ्नो गठबन्धनलाई दुईतिहाइ स्थानमा विजय गराएकोमा बिहीबारै मोदीले आफ्ना मतदाता एवं भारतीय जनतालाई धन्यवाद दिएका थिए।

मोदीले दोस्रो प्रधानमन्त्रीय कार्यकालका लागि आगामी बिहीबार बेलुकी शपथग्रहण गर्ने भारतीय संचारमाध्यमहरूले जनाएका छन्। शपथग्रहणअघि प्रधानमन्त्री मोदी गृहराज्य गुजरातका गान्धीनगर गएर आफ्नी आमासँग आशीर्वाद लिने भारतीय पनि संचार माध्यमले जनाएका छन््।

यता कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले वायनाड सिटबाट चार लाखभन्दा बढीको मत अन्तरले विजय हासिल गरेका छन् भने आफ्नो पारम्पारिक मतदान क्षेत्र अमेठीबाट भने उनले हारको सामना गर्नुपरेको छ। अमेठीमा भाजपा उम्मेद्वार स्मृति इरानीले राहुल गान्धीलाई पछि पारेकी थिइन्।
नयाँ सरकार निर्माणका लागि मोदीले आज शुक्रबार पार्र्टीका पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ।

मोदीको यस ऐतिहासिक सफलतालाई लिएर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन्। उनले लेखेका छन– ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भाजपा र उनका सहयोगी दललाई जीतका लागि बधाई दिन चाहन्छु। दक्षिण एशियामा शान्ति, प्रगति र समृद्धिका लागि उनीसँग मिलेर काम गर्नका लागि आशावादी छु।’

भारतको कूल वैधानिक ९० करोड मतदातामध्ये झण्डै पचास प्रतिशत महिला रहेका छन्।

भारतले स्वाधीनता हासिल गरे यतादेखि नै महिला मतदाताहरूले चुनावमा निकै उत्साहपूर्ण सहभागिता जनाउँदै आएको देखिन्छ। तर सन् २०१९ मा आएर बल्ल पहिलोचोटि महिला र पुरुष मतदाताको उपस्थितवरावर देखिएको छ। तर चुनावी प्रतिस्पर्धाका लागि दिइएको उम्मेदवारीमा भने महिलाहरू अझै पछाडि देखिन्छन्। कूल ८ हजार उम्मेदवारमध्ये केवल ७ सय २३ जना मात्र महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्