पानी कि पढाइ !



सलिम अन्सारी, प्युठान
भालेको डाँकोसँगै झिसमिसे उज्यालोमै रित्तो गाग्री र डोको टिपेर कुवातिर जानुहुन्छ उहाँ। आँखा मिच्दै पँधेरो पुग्ने मल्लरानी–४ बडडाँडाकी शर्मिला विकलाई पानी ल्याउँदा नै १० बज्छ। खाना खाने, लुगा लगाउने गर्दा विद्यालय जाने समय गइसक्छ।

घरनजिकै पानीको स्रोत नहुँदा उहाँले राम्ररी पढ्न पाउनुभएको छैन। महेन्द्र उच्च मावि खलंगामा कक्षा ९ मा अध्ययन गर्ने शर्मिलाले भन्नुभयो– ‘यही कारणले पढाइ बिग्रने चिन्ता लाग्छ। बिहानभरि पानी ओसार्न ठिक्क हुन्छ, घरमा पढ्न फुर्सद भए पो।’

उहाँले थप्नुभयो– ‘कहिलेकाहीं त ढिलो भएर विद्यालय छुट्छ। पानी ल्याएर घर आउँदा साथीहरू स्कुल गइसकेका हुन्छन्।’ शर्मिला त एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ। उहाँजस्ता बडडाँडाका धेरैजसो दलित बालबालिका बिहान भयो कि कुवातिर पानी लिन झर्छन्। मल्लरानी बोर्डिङ स्कुल खलगांमा कक्षा ३ मा पढ्ने ९ वर्षीया सुजिता नेपालीले पानी भर्न कुवामा जाने गरेको बताउनुभयो।

धारामा पानी भर्नेको भीड हुन्छ। ‘कहिले त बिहान ५ बजे कुवामा पुगे पनि ९–१० बजेतिर मात्र पालो आउँछ’ –स्थानीय ४१ वर्षीया फुर्सी नेपालीले भन्नुभयो। पानी लिएर फर्किंदा ढिला भएको दिन खाना पकाउन ढिला हुन्छ। केटाकेटीको स्कुल पनि छुट्छ। वर्षात् छिटो शुरू भएपछि मुहान रसाउन थाल्छन्। वर्षा सकिएसँगै यहाँका मानिस ढुक्कले निदाउने दिन पनि सकिन्छ। अभिभावक बिहानैदेखि मेलापातमा व्यस्त हुनाले पनि बालबालिकालाई पानी बोक्न भ्याई नभ्याई हुने गरेको हो। मूल सुकेपछि गाउँमा पानीको समस्या छ।

मानिसहरू खानेपानी मात्र नभई गाई वस्तुलाई समेत खुवाउने पानी घण्टौं लगाएर कुवाबाट बोक्ने गर्छन्। पानीको अभावका कारण सरसफाइमा समेत समस्या भएको नेपालीको भनाइ छ। स्थानीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष वसन्त शाक्यले पानीको समस्याले बालबालिकाको पढाइ प्रभावित बनेको बताउनुभयो। ७ हजार जनसंख्या रहेको यो क्षेत्रमा दिनहुँ ९ लाख लिटर पानी चाहिने उहाँले बताउनुभयो।

यहाँ झण्डै ४ सय धारा जोडिएका छन्, तर नियमित पानी नआउँदा समस्या भएको छ’ –शाक्यले भन्नुभयो। खानेपानीको समस्याका बारेमा वर्षौंदेखि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको यहाँका स्थानीयको दुखेसो छ।

प्रतिक्रिया दिनुहोस्