जातीय विभेद अन्त्यको प्रयास दलित र गैरदलितबीच सहभोज



सरिता चलाउने, सल्यान
सल्यान शारदा नगरपालिकाले सबैखाले जातीय भेदभावको अन्त्यका लागि सहभोज गरेको छ। जातीय भेदभाव र छुवाछूतको अन्त्य गरी भाइचाराको भावना कायम राख्ने उद्देश्यले सहभोज गरेको हो।

जिल्लाका दलित समुदायका अगुवा, नगरपालिकाभित्रका सबै दलित समुदाय र गैरदलित समुदायलाई समेटेर सहभोजको आयोजना गरिएको शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो।

चुनावको बेला सबै खाले जातीय भेदभाव अन्त्य गर्ने गरी घोषणापत्रमा समेटिएकाले कार्यान्वयन गर्ने तरिकाले सबै समुदायलाई समेटेर सहभोजको आयोजना गरेको उहाँले बताउनुभयो। उहाँले नागरिकलाई पनि हाम्रो समाजमा जातीय छुवाछूत छैन भन्ने बुझाउन सहभोजले सहयोग गर्ने बताउनुभयो।

कुनै दलको कार्यक्रम नभएर शारदा नगरपालिकाको कार्यक्रममा समेटिएको अनुसार सन्देश दिन सहभोज गरेको अधिकारीले बताउनुभयो।

संविधानमा जातीय विभेदको अन्त्य भनेर उल्लेख गरिएको भए पनि गाउँघरमा यो कुरीति हट्न नसकेकाले सबैखाले विभेद जरैबाट उखेल्न जरुरी रहेको बताउनुभयो। दलित र गैरदलित समुदायका व्यक्तिले एक साथ सहभोजमा सहभागी हुँदै दलित समुदायले छोएको खान नहुने रूढिवादी परम्परालाई तोडिएको छ।

नगरप्रमुख अधिकारीले भन्नुभयो– ‘जातीय विभेद भन्ने कुरा प्राकृतिकरूपमा बनेको होइन, यो मान्छेले नजानेर बनाएकाले यसलाई हटाउन जरुरी छ, पहिले मेरो बुवाआमाले घरभित्र पस्न दिँदैन थिए, अहिले दलितहरूको पनि मलामी जाने गरेको छु, बिहे भोजमा जाने गरेको छु, दलित समुदायलाई बलियो बनाएर जातीय विभेद हटाउन सकिन्छ।’

यस्ता सामूहिक सहभोज कार्यक्रम देखावटी नभई दीर्घकालीनरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको कानुनले नै जातीय विभेद गरेको पाइएमा दण्डनीय हुने भए पनि व्यवहारमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभयो। संविधानमा लेखेका कुरा जस्तै भाषण गरेर मात्रै समानता नआउने भन्दै आफूले प्रतिबद्धता गरेका घोषणपत्र अनुसार व्यवहारमा उतार्ने नगरप्रमुख अधिकारीले बताउनुभयो।

सहभोज कार्यक्रममा दलित र गैरदलित समुदायकाले एक साथ खाना खाएका थिए। सहभोज कार्यक्रमको अवसरमा दलित विकास समाज सल्यानका अध्यक्ष निमबहादुर नेपालीले जातीय विभेद र छुवाछूत सामाजिक कलंक भएकाले सबै जुटेर हटाउनुपर्ने बताउनुभयो। कानुनीरुपमा अन्त्य भए पनि व्यावहारिकरुपमा अन्त्य हुन नसकेको बताउनुभयो। उहाँले छुवाछूत अन्त्य, जातीय विभेद अन्त्य गरेर सामाजिक सद्भाव बढाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। सभ्य समाज निर्माण गर्न, सामाजिक रुपान्तरणका लागि समाजका हरेक पक्षलाई तेरो मेरो भन्ने शब्द हटाउनुपर्ने अध्यक्ष नेपालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्