कप्सका नायक नायिका सम्पर्कविहीन



पोस्टर सार्वजनिक
रंगकर्मी, अभिनेता तथा निर्देशक सम्राट सापकोटाले ३ दशक लामो कलायात्रा पार गरेपछि पहिलोपटक ठूलो पर्दाको फिल्म निर्देशन गरे कप्स। तर, आफ्नै भाइ मानेका अनुपविक्रम शाही र यसकी नवनायिका सन्दीपा लिम्बु फिल्म रिलिज नजिकिँदै जाँदा उनीबाट सम्पर्कविहीन भइदिए, टाढा भइदिए।

यसका बाबजुद सम्राटले आफ्नो डेब्यु निर्देशनको फिल्म कप्सको अफिसियल पोस्टर सार्वजनिक गरेका छन्। आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्मको २ पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा फिल्मका अभिनेता अनुपविक्रम शाही, नवअभिनेतृ सन्दीपा लिम्बु, अनुपा भट्टराई र अमित गिरीलाई प्रस्तुत गरिएको छ। पोस्टरमा अनुप डीएसपी, सन्दीपा घाइते युवतीका रूपमा देखिन्छन्। अर्को पोस्टरमा अनुप, सन्दीपा, अमित, रामराज क्षेत्री र सम्राट शाक्य देखिएका छन्।

एक्सन लभस्टोरीको यो फिल्ममा खलभूमिकामा देखिँदै आएका अनुपविक्रमलाई एक सच्चा प्रहरी अधिकृतका रूपमा प्रस्तुत गरिएको छ। सत्य सेवा सुरक्षणम् नारा बोकेको फिल्ममा अपहरणकारी, भ्रष्टाचारी र गुन्डागर्दीविरुद्धको कथा बुनिएको छ। फिल्ममा निर्देशक सापकोटाकै लेखन रहेको छ भने अनुपविक्रम, सन्दीपा, अमितसँगै रामराज क्षेत्री, पुरण जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लुविक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकार मुख्य भूमिकामा छन्।

फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त ब्यानरमा राम शाक्यद्वारा निर्मित फिल्ममा संगीत विजय घिमिरे, कोरियोग्राफी कविराज गहतराज, छायांकन सुशन प्रजापति र सम्पादन विपीन मल्लको रहेको छ।

प्रतिक्रिया दिनुहोस्