४० कटेका अविवाहित अभिनेतृ



विवाहप्रति मानिसहरूको आ–आफ्नो धारणा हुन्छ। कतिपयले विवाहलाई प्राथमिकतामा राखेका हुन्छन् भने केहीले विवाहलाई सफलताको बाधकका रूपमा लिएको पनि पाइन्छ। संसारमा त्यस्ता धेरै चर्चित व्यक्तिहरू छन्, जसले विवाहलाई प्राथमिकतामा राखेनन्। बलिउड फिल्म नगरीमा पनि त्यस्ता प्रसिद्ध व्यक्तिहरू छन्, जसले चर्चा सफलता र धन कमाए, तर विभिन्न कारणवश विवाह भने गरेनन्। बलिउडका ४० कटेका त्यस्ता अविवाहित सुन्दरीबारे यहाँ चर्चा गरिएको छ ः

                                                                                                                                                                                  सुस्मिता सेन
बलिउड नायिका सुस्मिता सेन ४२ वर्षकी भइसकिन्। सन् १९९४ मा मिस इन्डिया युनिभर्सको उपाधि जितेपश्चात् १९९६ मा फिल्म दस्तकबाट बलिउड फिल्ममा डेब्यु गरेकी उनी हालसम्म पनि अविवाहित छिन्। अविवाहित उनले आफ्नो आमा बन्ने रहर पूरा गर्दै दुई धर्मपुत्री पालेकी छिन्। दुई छोरीको ख्याल राख्दै उनले सुन्दरतालाई पनि उत्तिकै ध्यान दिएको पाइन्छ। फिल्मकै कारण खासै चर्चा नपाएकी उनको चर्चा भने बेलाबेला प्रेमीसँगको ब्रेकअपको कारण हुने गर्छ।
फिल्म दस्तकमा अभिनय गर्दा निर्देशक विक्रम भट्टसंँग नजिकिएकी उनको निर्देशक मुदसर अजिज, अभिनेता रणदीप हुड्डा, विज्ञापन निर्देशक मानव मेनन, व्यापारीहरू बन्टी सचदेवा, सञ्जय नारंग, इम्तियाज खत्री, ऋत्विक बसिम, सबिर भाटिया, क्रिक्रेटर वासिम अक्रामलगायतका करिब एक दर्जन पुरुषसँग प्रेम चल्यो। केहीसँग विवाहको कुरा चले पनि उनको लगन भने कसैसँग जुर्न सकेको छैन।

नरगिस फाखरी
ब्लकबस्टर हिट फिल्म रकस्टारकी नायिका नरगिस फाखरी अहिले ३९ वर्षकी भइन्। तर, उनी पनि अविवाहित छिन्। केही समय पहिले अभिनेता उदय चोपडासँग प्रेम सम्बन्धमा रहेकी उनी पछिल्लो समय अमेरिकी निर्देशक म्यान्ट अलोन्जोसँगको डेटमा थिइन् भने सन् २०१९ मा उनीहरूको विवाहको चर्चा चलेको थियो। उनले ढिसुम, हाउसफसुल–३, फाइभ वेडिङ्सजस्ता फिल्ममा अभिनय गरेकी छिन् भने हलिउड फिल्म स्पाइमा पनि अभिनय गरेकी थिइन्।

                                                        तब्बु
बलिउडमा तब्बुलाई सक्षम अभिनेतृका रूपमा लिइन्छ। अभिनेतृ फराह खानकी बहिनी तब्बुले निर्देशक, निर्माता तथा अभिनेता देव आनन्दको फिल्म हम नौजवानबाट बलिउडमा आफ्नो करिअर शुरू गरेकी हुन्। त्यस फिल्ममा उनले देव आनन्दको १४ वर्षीया छोरीको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि उनले बोनी कपुरद्वारा निर्मित तथा सतिश कौशिकद्वारा निर्देशित फिल्म प्रेमबाट नायिकाका रूपमा काम गर्न शुरू गरेकी थिइन्। तर, अजय देवगनसँग खेलेको फिल्म विजयपथबाट उनको फिल्मी करिअरमा सफलताको शुरुआत भएको थियो। त्यस फिल्मको रुक, रुक बोलको गीतमा उनले गरेको नृत्यका कारण उनलाई दर्शकले निकै मन पराएका थिए। पछिल्लो ३० वर्षदेखि फिल्ममा सक्रिय यी अभिनेतृको कहिल्यै पनि कुनै अभिनेतासँग नाम जोडिएको थिएन। तब्बु यो उमेरसम्म सिंगल रहनुको कारण नायक अजय देवगण हुन्। वर्षौंको मौनतापछि केही समयअघि तब्बु आफैंले यो कुराको खुलासा गरेकी थिइन्। एक अन्तरवार्तामा उनले भनेकी छिन्– ‘आजसम्म म सिंगल रहनुमा अजय देवगण जिम्मेवार छन्।’ तर यसको अर्थ के हो भन्ने उनलाई नै थाहा होला। स्मरणीय छ कि तब्बु र अजयले विजयपथपछि हकिकत, तक्षक, फितुर, दृश्यमजस्ता फिल्ममा सँगै काम गरेका थिए। दर्शकले यो जोडीलाई निकै मन पराएका थिए।

मोना सिंह
बलिउड अभिनेतृ तथा टेलिभिजन स्टार मोना सिंह पछिल्लो समय एकता कपुरको वेब सिरिजमार्फत लामो समयपछि पुनः टिभीमा आएकी थिइन्। हाल ३७ वर्षीया यी अभिनेतृ हालसम्म अविवाहित छिन्। केही वर्षअघि मोना सिंहको नाम एमएमएस काण्डमा पनि आएको थियो। उनको २३ सेकेण्डको नग्न भिडियो भाइरल भएको थियो। तर, मोनाले भने यो भिडियो अफ्नो नभएको दाबी गरेकी थिइन्।

                                                 नगमा
बलिउड अभिनेतृ नगमा ९० को दशकमा निकै चर्चामा थिइन्। फिल्म बागीःअ रिबेल फर लबबाट बलिउड फिल्ममा डेब्यु गरेकी नगमा उमेरले ४४ वर्षको भइन्। बलिउडका साथै भोजपुरी, तामिल तथा तेलुगु फिल्ममार्फत दर्शकको मन जित्ने यी अभिनेतृको पनि विवाह भएको छैन। उनको पूर्वक्रिकेटर सौरव गांगुली र भोजपुरी फिल्म अभिनेता रवि किशनसँग प्रेम सम्बन्धको चर्चा चलेको थियो।

एकता कपुर
भारतीय टेलिभिजन दुनियाँमा चर्चित सिरियल तथा फिल्म निर्मात्री एवं निर्देशक एकता कपुर ४३ वर्षकी भइन्। तर, उनी पनि अविवाहित नै छिन्। केही समयअघि उनी सेरोगेसीको माध्यमबाट एक छोराको आमा बनेकी थिइन्।

                                                                             राखी सावन्त
बलिउडमा कन्ट्रोभर्सी क्विनका रूपमा चिनिने अभिनेतृ राखी सावन्तले पनि हालसम्म विवाह गरेकी छैनिन्। गत वर्ष भारतको कुम्भ केलामा स्नानका लागि सोह्र शृंगारका साथमा सिन्दुर लगाएर गएकी थिइन्। मानिसहरूले उनले विवाह गरेको हो भन्ने सोचेपनि उनले आफू अविवाहित भएको तर मेलामा पूरा परम्परागत भेषमा प्रार्थनाका लागि गएको बताएकी थिइन्। फोटा भाइरल भएपछि उनलाई मानिसहरूले विवाह र हिन्दू सरकारलाई मजाक बनाएको प्रतिक्रिया दिएका थिए।

                                 अनु अग्रवाल
सन् १९९० मा फिल्म आशिकीमार्फत बलिउड फिल्ममा डेब्यु गरेकी अभिनेतृ अनु अग्रवालले पहिलो फिल्मबाट नै निकै चर्चा कमाइन्। तर, उनका त्यसपछिका फिल्मले खासै सफलता हात पारेनन्। बलिउडमा करिब एक दशक बिताएपछि उनी एकाएक फिल्मी दुनियाँबाट टाढा भइन्। फिल्मी दुनियाँबाट टाढा भएपछि उनले जीवनमा ठूलो दुर्घटनाको सामना गर्नुप¥यो। सन् १९९९ मा उनी एक दुर्घटनामा परिन् र २९ दिन कोमामा बस्नुप¥यो। उनको स्वास्थ्यमा क्रमिक सुधार आए पनि उनले पुराना कुरा सबै बिर्सिसकेकी थिइन् भने उनको अनुहारको सुन्दरता पनि पहिलेजस्तो थिएन। गुमनाम जिन्दगी बिताइरहेकी उनी ५० वर्षकी भइन् तर हालसम्म पनि अविवाहित नै छिन्।

आशा पारेख
बलिउडको कुनै जमानाकी प्रसिद्ध अभिनेतृ आशा पारेख अहिले ७६ वर्षकी भइन्। सन् १९५९ मा फिल्म दिल देके देखोमार्फत बलिउड फिल्ममा डेब्यु गरेकी उनी सन् १९५९ देखि १९७३ सम्म निकै सक्रिय रहिन्। उनी फिल्म निर्माता नासिर हुसेनसँग प्रेममा थिइन् र नासिरसँग विवाह गर्न चाहन्थिन्। तर, नासिर विवाहित भएकाले त्यसो हुन सकेन।
उनले आत्मकथा द हिट गर्लमा अफ्नो प्रेमबारे लेखेकी छिन्। ‘मैले जीवनमा एक मात्र पुरुषलाई प्रेम गरें उनी र उनी हुन् नासिर साब। अरूको घर भत्काएर म आफ्नो घर बनाउन चाहन्न थिएँ। यस कारण मैले नासिर साबसँग बिहे गरिन्’ –आत्मकथामा उनले उल्लेख गरेकी छिन्। आशाको परिवारले अन्य व्यक्तिसँग विवाह गराउने धेरै कोशिस गरे पनि उनले मानिनन्।

 

                                                अमिशा पटेल
बलिउड अभिनेतृ अमिशा पटेल आफ्नो बोल्ड अवतार र तस्वीरका कारण चर्चामा छाइरहन्छिन्। उमेरले ४२ वर्ष टेकेकी अमिशाको यो उमेरमा पनि सुन्दराको चर्चा हुने गर्छ। निर्देशक विक्रम भट्ट, व्यापारी कनभ पुरी, रनपवीर कपुरजस्ता केही पुरुषसँग प्रेमको चर्चा चले पनि उनले सायद आफ्नो लागि सुहाउँदो वर भने भेट्टाएकी छैनिन्।
सन् २००० मा फिल्म कहोना प्यार हेबाट बलिउडमा इन्ट्री गरेकी अमिशाको शुरुआती दिनका फिल्मले निकै चर्चा र सफलता पाएको थियो।

प्रतिक्रिया दिनुहोस्