सन्दीपको मूल्य ह्वात्तै बढ्यो



नेपाल समाचारपत्र
काठमाडौं
गत वर्ष २०१८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) मा २० लाख भारुमा अनुबन्धन भएर विश्वका विभिन्न लिगमा खेलेका सन्दीप लामिछानेको यस सिजनमा मूल्यह्वात्तै बढेको छ।
आईपीएलमा खेलेपछि नै सन्दीपको माग बढेको हो। बितेको एक वर्षमा विभिन्न देशका टी–२० क्रिकेट घरेलु लिगमा उनी अनुबन्धन हुँदै गए। बंगलादेश, अफगानिस्तान, पाकिस्तान, वेस्टइन्डिज र क्यानडामा उनले खेलेर निकै चर्चा कमाएका थिए। यसैको फलस्वरूप सन्दीपको माग यस वर्ष निकै बढ्यो। बुधबार लन्डनमा भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा नेपाली स्पिनरलाई महँगो मूल्यमा अनुबन्धन गरिए।
सीपीएलका क्लब बार्बाडोस ट्रायडेन्टस्ले अनुबन्धन गरेपछि सन्दीपले कमसेकम ७० हजार अमेरिकी डलर (नेपाली रुपियाँमा लगभग ८० लाख) पाउनेछन्।
गत सिजनमा सीपीएलमा सन्दीपलाई ५ हजार डलरमा अनुबन्धन गरिएको थियो। यानिकि उनको मूल्य एकवर्षमा १४ गुणाले बढेको छ।
लन्डनमा भएको सो ड्राफ्टमा कुल ५ सय ३६ जना खेलाडी रहेकामा सीपीएलका ६ टोलीले १७÷१७ खेलाडी गरी कुल १ सय २ जना खेलाडी अनुबन्ध भएका छन्। जसमध्ये सन्दीप पनि परेका हुन्। तर चार नेपाली खेलाडी ड्राफ्टमा परेकोमा अन्य तीन जनालाई कुनै टोलीले चासो राखेन।
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गरिसकेका फास्ट बलर सोमपाल कामी र हालै चर्चित युवा ब्याटसम्यान रोहितकुमार पौडेल भाग्यशाली हुन सकेनन्।
सन्दीपले अघिल्लो वर्षमा सीपीएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटस्बाट खेलेका थिए। उनको क्रिकेट करियर निकै व्यस्त भएको र उत्कृष्ट प्रदर्शनकै कारण यस सिजनमा पनि उनलाई अनुबन्ध गरिएको अनुमान लगाउन सकिन्छ। ड्राफ्टमा रहेका अन्य नेपाली खेलाडीहरू पनि अन्तर्राष्ट्रियस्तरकै हुन्। तर उनीहरूमाथि कुनै पनि टोलीले विश्वास गरेन। सन्दीपले गत सिजनको सीपीएलमा ५ खेल खेलेर ७ विकेट लिएका थिए।
वेस्ट इन्डिजमा हुने सीपीएल आगामी सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म आयोजना हुनेछ। सन्दीपको टोली बार्बाडोसमा एलेक्स हेल्स (इंग्ल्यान्ड), जेसन होल्डर (वेस्ट इन्डिज), वहाब रियाज (पाकिस्तान) र शाई होप (वेस्ट इन्डिज) लगायतका स्टार खेलाडी रहेका छन्।
सन्दीपको मूल्य
गत सिजन
इन्डियन प्रिमियर लिग
२० लाख भारतीय रुपियाँ
ग्लोबल टी–२० क्यानडा
४० हजार अमेरिकी डलर
क्यारेवियन प्रिमियर लिग
५ हजार अमेरिकी डलर
अफगानिस्तान प्रिमियर लिग
१५ हजार अमेरिकी डलर
दुबई टी–१० लिग करिब ३० हजार अमेरिकी डलर
अस्टे«लिया बिग बास
करिब ४० हजार अमेरिकी डलर
बंगलादेश प्रिमियर लिग नखुलाएको
पाकिस्तान सुपर लिग
१५ हजार अमेरिकी डलर
जारी सिजन
इन्डियन प्रिमियर लिग
२० लाख भारतीय रुपियाँ
क्यारिबियन प्रिमियर लिग
७० हजार अमेरिकी डलर

प्रतिक्रिया दिनुहोस्