उता परिणाम यता हर्ष बढाईं



भारतीय आमनिर्वाचन नतिजाले फेरी पनि राहुललाई ‘लोप्पा’ र मोदीलाई ‘म्वाई’ ख्वाएको छ । अर्थात् मोदी फेरी सत्ताको रथ चढ्ने कन्फर्म भएको छ । विजयी पार्टी, नेता र उनका समर्थक खुशी हुनु स्वभाविक हो, चुनावी विशेषता यही हो ।

चुनाव उताको, नेता उतैका, भोर्टर उतैका र चुनावी जितको हर्ष बढाईँ भने यता छ । हर्ष बढाईँको फ्रन्ट लाइनमा देखिए, पीएम ओली । चुनावी परिणाम सार्वजनिक हुन नपाउँदै मोदीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका ओलीको उत्साह साम्य भएन । उत्साह उम्लिने क्रम नरोकिने निधो भएसी लगत्तै टेलिफोनमार्फत बधाई टक्राए ।

अनि मात्रै उनी संयमित भएको धरहराबाट प्रष्टै देखियो । बधाई दिन हतार भयो कम्रेड प्रचण्डलाई पनि । उनले ट्वीट्मार्फत हर्ष पोखे । यही उपलक्ष्यमा विहीवार राती अवेरसम्म बालुवाटार, खुमटलटार, पुल्चोक जस्ता दरवार र घरवारमा राती अवेरसम्म ‘चिर्यस’ आदान–प्रदान चलिरहेको देखियो ।

चुनावी परिणाम राहुलतर्फ सोझिएको भए कम्रेडहरको बधाई शैली कस्तो हुन्थ्यो कुन्नी ? चुनावी परिणामलाई राहुलले सहर्ष स्वीका¥या छन् । ‘भारतीय जनताको फैसलालाई स्वीकार्छु । विजयीलाई बधाई, श्री मोदी र एनडीएलाई’–उनले ट्वीट गरेका छन् । धाँधली गरेर चुनावी परिणाम आफ्नो पक्षमा पारेको आरोप लगाउन अभ्यस्त हाम्रा महामहिमहरुले राहुल संस्कार कहिले सिक्ने हुन् कुन्नी ?

प्रतिक्रिया दिनुहोस्