विद्यार्थी निको पार्न भन्दै कक्षा कोठामा पूजा



गोकुल घोरसाइने, बारा
कन्भर्शनल डिसअर्डरबाट प्रभावित भएका विद्यार्थीलाई निको पार्न भन्दै बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविमा बिहिबार ग्रहशान्ति र चण्डी पूजा गरिएको छ ।

स्थानीय धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षा कोठामा नै पुजा गरेको हो । प्रभावित मध्येका केही अभिभावकहरुले देखाउने क्रममा धामीले देवीदेवता रिसाएर छात्रछात्राको ग्रहदशा बिग्रेको र निको पार्न पुजापाठ गर्नु पर्ने बताएका थिए ।

धामीको सल्लाहामा लागेका केही अभिभावकको अनुरोधमा विद्यार्थी निको पार्न पुजा गरिएको विद्यालयका प्रधानाध्यापक हरिनारायण लाल कर्णले बताउनुभयो । उहाँले ५ जना पुरोहति बोलाएर बिहान ७ बजेदेखि ४ बजेसम्म कक्षा कोठामा नै वेद, रुद्री र चण्डी पाठ तथा पुजा गरिएको जानकार्री दिनुभयो । पुजा चल्दै गर्दा पनि विद्यार्थीहरु पटकपटक बेहोस बनेका थिए । पुरोहितले प्रभावित छात्रालाई जवरजस्ति पुजाको प्रसाद खान लगाएका थिए ।

विद्यालय बन्द गरेर गरिएको पुजा कार्यक्रममा विरामी विद्य्रार्थी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकको समेत सहभागिता रहेको थियो । शुरुमा कक्षा ४ मा अध्ययन गर्ने ३ जनामा देखापरेको सो समस्याबाट एक साताभित्र ८ जना छात्रा प्र्र्रभावित बनेको प्रधानाध्यापक कर्णले जानकारी दिनुभयो । कक्षा कोठामा कक्षा शुरु हुने बित्तिकै छात्राहरुमा रुने, चिच्याउने र उफ्रिने र एक्कासी बेहोस हुने जस्ता समस्या देखापरेको प्रअ कर्णले बताउनुभयो । ‘बोलाउन आएका छन भन्दै रुदै चिच्याउन थाल्छन, प्रअ कर्णले भन्नुभयो, एउटाले शुरु गरेपछि अन्यमा पनि त्यस्तै लक्षण देखा पदैजान्छ ।’ उहाँले विद्यार्थीमा देखा परेको समस्याका कारण पूरै विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको बताउनुभयो ।

घरमा बस्दा भने उनीहरुमा त्यस्तो कुनै समस्या नदेखिएको बताइएको छ । अन्य विद्यार्थीमा समेत प्रभावित हुनसक्ने आशंकामा अघिल्लो साता २ दिन विद्यालय नै बन्द गरिएको थियो । तर समस्या झन बढदै गएपछि पुजापाठ गर्नुपरेको प्र्रअ कर्णको भनाइ छ । कतिपय अभिभावकले विद्यालयमा पिचासले बास गरेको र विद्यार्थीलाई दुख दिएको समेत बताउदै आएका छन ।

प्राथमिक स्वाथ्य केन्द्र हरैयाका चिकित्सक राजिव सिन्हाले कुनै देवीदेवता वा पिचासका कारणले नभई मानसीक तनावका कारण किशोरावस्थाका केहीमा यस्तो समस्या देखापर्ने बताउनुभयो । उहाले कन्भर्शनल डिसअर्डरले प्राय किरोरीहरु प्रभावित हुने गरेको र २० बर्ष उमेर पार गरेपछि समस्या आफै हराउने पनि बताउनुभयो । चिकित्सक वा विशेषज्ञबाट परामर्श लिएर आवश्यक उपचार गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्