७२ औं स्वास्थ्य सम्मेलन जेनेभामा जारी



नेपाल समाचारपत्र, काठमाडौ ।
“स्वास्थ्यमा सर्वव्यापी पहुँच, सेवाबाट कोही पनि वञ्चित नहुने” भन्ने मूल नाराका ७२ औं विश्व स्वास्थ्य सम्मेलन सोमबारदेखि जेनेभामा चलिरहेको छ ।

१ सय ९४ राष्ट्रका उच्च पदाधिकारी, नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागितता रहेको उक्त सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सम्बोधन गर्नुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संवोधन गर्दै उहाँले नेपालले खस्रे रोग निवारणमा उपलब्धी हासिल गरेको र विश्व स्वास्थ्य संघले तोकेको समयावधि भन्दा दुई वर्षअगावै रुवेला रोग नियन्त्रणमा ल्याएको जानकारी दिनुभएको थियो ।

यस्तै नेपालले स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्मा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको उपप्रधानमन्त्री यादवले उक्त सम्मेलनमा सुनाउनुभएको थियो ।

उहाँले स्वास्थ्यको एजेन्डालाई मूलधारमा ल्याई प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, औषधीको मूल्यमा नियन्त्रण, नसर्ने रोगहरुको भार कम गर्ने जस्ता कार्यहरु गरी गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच बढाउने कुरामा जोड दिनुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले स्वस्थ जीवनको लागि विश्व व्यापी कार्ययोजनाको बारेमा धारणा राख्नुभएको थियो ।

उहाँले दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि नेपालले प्राथमिकतामा राखेका कार्यक्रमहरु र आगामी दिनमा आउने चुनौतीबारे चर्चा गर्नुभएको थियो ।
उक्त सम्मेलनमा उहाँ र चीनका राष्ट्रिय स्वास्थ्य आयोगका मन्त्री म. छिवईबीच स्वास्थ्यको क्षेत्रमा द्वीपक्षीय पारस्परिक हित र सहयोगलाई सुदृढीकरण गर्नेबारे छलफल भएको थियो ।

नेपालसहित आठ राष्ट्रहरुले आयोजना गरेको उक्त कार्यक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन महिला,बालबालिका तथा किशोर किशोरीको स्वास्थ सम्बन्धि विश्वव्यापी रणनीतिको विषयमा छलफल भएको थियो ।

सम्मेलनमा नेपालको तर्फबाट उपप्रधान एवंं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको नेतृत्वमा स्वास्थ्य सचीव डा. पुष्पा चौधरी लगायत ७ जनाको सहभागीता रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

जेठ ६ गतेदेखि शुरु भएको उक्त सम्मेलन जेठ १४ गतेसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्