दश वटा प्रतिबद्धतामा हस्ताक्षरः राष्ट्रिय रक्तचाप जाँच अभियान सुरु



किरन धामी, दार्चुला । विभिन्न दशवटा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सुदुरपश्चि प्रदेशको दार्चुला जिल्लामा पनि राष्ट्रिय रक्तचाप जाँच अभियान विहीबारबाट सुरु भएको छ । सर्ने रोग भन्दा नसर्ने रोगहरुको प्रकोप बढ्न थालेपछि नेपालमा अंग्रेजी (मे) महिनालाई रक्तचाप जाँच महिनाको रुपमा मनाउने अभियान सुरु भए अनुसार दार्चुलामा पनि अभियानको थालनी गरिएको हो ।

पछिल्लो समय उच्च रक्तचापका कारण धेरै मानिसको अकालमै मृत्यु हुने गरेको पाइए पछि रक्तचाप जाँच अभियानको थालनी गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले बताउनु भयो । जिल्ला सदरमुकाम खलंगामा रहेको खुल्लामञ्चबाट एक किलोमिटर तल नमस्कार मन्दिर सम्म दगुरेर रक्तचाप जाँच गरी अभियानको थालनी गरिएको हो ।

जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्की, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, जिल्ला न्यायाधिस गिरीराज गौतमको रक्तचाप जाँच गरी अभियान सुरु गरिएको उहाले बताउनु भयो । अभियानमा म स्वस्थ्य र पाषिलो खाना खान्छु, रक्सी, चुरोट सुर्तिजन्य पदार्थबाट टाढै रहन्छु, नियमित स्वास्थ्य जाँच गराउछु, व्यायाम गर्छु, तनाव रहित जिवनशैलीलाई आत्मसाथ गर्छु, प्रदुषण नियन्त्रणमा सजग रहदै आफ्नो घर र समुदाय सफा राख्छु ,ट्राफिक नियमको पालना गर्छु, त्यसैगरी परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु, स्वास्थ्यलाई प्रतिकुल हुने खालका वालविवाह, छाउपडी प्रथा जस्ता सामाजिक कुरिती र कुसस्कारहरु अनुसरण गर्ने छैन् र हिंसा तथा भेदभाव गर्ने छैन र कसैले हिंसा तथा भेदभाव गरेको पाएमा त्यसको प्रतिकार गर्नेछु लगायत दशवटा प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ ।

अभियान बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी नसर्ने रोगहरुको बारेमा जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा.गजेन्द्र दुवालले प्रस्तुती गर्नु भएको थियो । साथै उहाले अभियानलाई एक महिना, एक वर्ष भन्दा पनि नियमित रुपमा मनाउनु पर्नेमा जोड दिनुभएको छ । धेरै जसो सर्ने रोगहरु नियन्त्रण भैइरहेका बेला नसर्ने रोगहरुको प्रकोप बढेको उहाले बताउनु भयो ।

पषिलो खाने कुरा खानाले, नियमित रुपमा व्यायाम, मदिरा र सुर्तिजन्य पदार्थ सेवनलाई नियन्त्रण गर्न सके मानिस पुर्णरुपमा स्वस्थ्य रहने उहाले बताउनु भयो । रक्तचापका कारण हृदयघात, पक्षघात, मिर्गौला फेल हुने, तथा आँखाबाट रगत बग्ने लगायतका समस्या आउने हुने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्