अबोध बाछाबाछीलाई महलमपट्टी




काठमाडौं उपत्यकामा आउने विदेशी पर्यटकका लागि आर्कषक विषय बनेका छन् सडकमा यत्रतत्र पाइने गाईबाछा । पर्यटक रमाइलो मान्दै वीच सडकमा उभिएका गाईबाछाको फोटो खिचिरहेका हुन्छन् । गाई नेपालको राष्ट्रिय जनावर, हिन्दु धार्मिक परम्परा अनुसार भगवानको ज्यूँदो स्वरुप, आमा सरह पुजिने जन्तु । यो कुरा पाहुनालाई कति थाहा हुन्छ, व्यस्त सडक र सार्वजनिक स्थलमा सहजै गाईबाछा देखिने नेपालप्रति उनीहरु कस्तो धारणा बोकेर फर्किन्छन् ?

‘गाई (बाछाबाछी)लाई दुई थुन, माई(मान्छे)लाई दुई थुन’ यो उक्ति सहर बजारका लागि ‘फेलियर’ भइसक्यो । पर्यटकले झन् बुझ्ने कुरै भएन । बाछा–बाछी आफैले घाँस र पानी खाने बानी नभएसम्म दुई थुन दुध उनका भागमा छोड्नुपर्छ भन्ने अघिल्लो पुस्ता पाउन गाह्रो छ । गाई ब्याएकोे दुई चार दिनदेखि नै सबै दूध आफ्नै भागमा पार्ने गाई धनीले पुरानो उक्ति विर्सिसके । दूध खाँदाखाँदैका बाछाबाछी र दूध दिन छोडेका गाई समेत निधक्क सार्वजनिक स्थलमा छोड्न अप्ठ्यारो नमान्नेहरुको जमात उपत्यकामा बाक्लो छ ।


बागमती करिडोरको गुहेश्वरी–माकलबारी खण्ड र आसपासको भेगमा बेवारिसे बाछाबाछीको संख्या बढ्न थालेपछि सो भेगका स्थानीय बाछाबाछीको स्याहर सुसारमा जुटेका छन् । आमासँगको साथ छुटेको दुई चारसाता, दुईचार महिनामा बाछाबाछी मर्नेक्रम बढ्न थालेपछि स्थानीय अवोध जन्तुका मलामी मात्रै बनेका छैनन्, तीनलाई पुनजिवन दिन थालेका छन् । दैनिक पिठो र नुन सहितको पानी अनि घास खुवाउन थालेका छन् । यही जेठ १ गतेबाट शुरु भएको यो अभियानले निरन्तरता पाएको छ, स्वयंसेवी बढेका छन्, बाछाबाछीको संख्या पनि हरेक दिन बढिरहेको छ ।


‘प्राय हरेक दिन हामी अवोध बाछाबाछीका मलामी बन्यौ, जिवित रहेकाहरुको व्यवस्थापन गर्ने सोचेका पनि थियौ, तर केही हुन सकेको थिएन, ढिलै भएपनि अब हामी उनीहरुको व्यवस्थापनमा जुटेका छौ’–यो कार्यका अभियन्ता उत्तम पुडासैनी भन्छन् । भेटेनरी चिकित्सकसँगको सल्लाह अनुसार नाम्लेको औषधि तथा जीर्ण शरिर भएका बाछाबाछीलाई भिटामिन समेत खुवाउन थालिएको उनले बताए । मनसुन शुरु हुनु अगावै करिव १ सय बाछाबाछी अटाउने गोठ बनाउने गृहकार्यमा स्वयंसेवी जुटेका छन् ।

गोठटारस्थित गौचरको सार्वजनिक जग्गा दुरुपयोग नहुनेगरी गोठ बनाउने तयारी भइरहेको छ । ‘घाउ चोट लागेका अबोध बाछाबाछीलाई मलहम पट्टीको ब्यवस्था गरिरहेका छौं, पिठो, नुनपानी दिइरहेका छौ, घामपानीबाट जोगाउन छिटै गोठ तयार हुनेछ’–पुडासैनीले भने । स्वतःस्फूत यस्तो माहोल बन्न थालेपछि ६० लाख रुपियाँसम्म सहयोग गर्ने दाता सम्पर्कमा आएका तर तत्काल गोठ र आहराका लागि यति ठूलो रकम खर्च नहुने उनले बताए ।


यो अभियान शुरु भएपछि गुहेश्वरी–माकलबारी खण्डमा मात्रै करिव डेढसय बाछाबाछी फेला परेका छन् । जन्मिएको महिनादिन आसपासका र अधिकतम २ वर्ष हाराहारीका बाछाबाछी छन् । यस्ता अबोध बाछाबाछी संरक्षणका लागि स्थानीयले विगतमा पशुपती क्षेत्र विकास कोष, कागेश्वरी–मनोहरा र गोकणेश्वर नगरपालिका र अन्य सरोकारवाला निकायको समेत ध्यानाकर्षण गराए । तर सुनुवाई नभएपछि आफैं अघि सर्नुको विकल्प नभएको एक स्वयंसेवीले बताए । ‘हामीले ध्यानाकर्षण गराएपछि पशुपति कोषले २ महिनाभित्रै व्यवस्थापन गर्छौ, आश्रय दिन्छौ भन्ने प्रतिवद्धता जनाएको थियो, दुई वर्ष भयो प्रतिवद्धता पुरा भएन, अनि हामी आफै जुट्यौ’–उनले भने ।


बजेट अभाव देखाउँदै पन्छिएका कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरले आगामी आर्थिक वर्षदेखि मात्र यो विषयलाई प्राथमिकतामा राख्ने र बजेट छुट्याउने वचन दिएका उनले बताए । पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकाल भने यसबारेमा कुनै औपचारिक छलफल नभएको बताउँछन् । पशुपति परिसर आसपासमा भेटिएका घाइते जन्तु, वेवारिसे गाई, बाछाबाछीलाई कोषले आश्रय दिइरहेकाले कोष यस्तो कामबाट पन्छिएको भन्न नमिल्ने उनको भनाई छ ।

बागमती करिडोर आसपासमा हरेक वर्ष वेवारिसे गाई, बाछाबाछीको संख्या बढ्न थालेपछि गाईधनी र गाईफार्म सञ्चालकको ध्यानाकर्षण गराउँदा सकारात्मक जवाफ आएपनि समस्या ज्यूँका त्यूँ रहेको पुडासैनीले बताए । उनी भन्छन्–‘बुझेर पनि बुझ पचाइएको सामाजिक विकृति हो, अन्यत्र पनि यस्तो विकृति बढिरहेको छ, यो अपराध हो, आफैले जन्माएका सन्ततीलाई अभिभावकले सडकमा फ्याँके जस्तो भएन र ?’

प्रतिक्रिया दिनुहोस्