गुटबन्दीले कांग्रेस कमजोर



रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसको केन्द्रीय तहमा नै मौलाएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेर फर्केका नेताहरूले बताएका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण पनि गुटबन्दी नै भएको निष्कर्ष निकालेका छन् ।

पार्टीको जागरण अभियानका क्रममा दुई साताजति डोटीका कार्यकर्तासँग घुलमिल हुनुभएका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं त्यहाँका आम कार्यकर्ताहरुको एउटै माग नेताहरु मिलून् भन्ने नै रहेको बताउनुहुन्छ । गुटबन्दी छाडेर सबै नेता एकढिक्का भए कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सकिने आम कार्यकर्ताको धारणा रहेको उहाँको निष्कर्ष छ ।

कांग्रेसकै अर्का नेता रामहरि खतिवडाको भनाइ पनि यस्तै छ । गुटबन्दीले कार्यकर्तामा चरम निराशा बढेको पाइएको बताउँदै उहाँ भन्नुहुन्छ– ‘मुहान धमिलो भएपछि धाराको टुकी मात्र सफा गरेर हँुदैन भनेजस्तै केन्द्रबाटै गुटवन्दीको अन्त्य गर्नुपर्छ ।’

जागरण अभियानअन्तर्गत दुई साता भोजपुरका कार्यकर्तासँग अन्तरक्रिया गरी मंगलबार राजधानी फर्कनुभएका उहाँका अनुसार एक÷एक नेताको एक÷एक कार्यकर्ता गाउँ तहसम्म छन् । नेता खतिवडा थप्नुहुन्छ– ‘जागरण अभियानमा समेत केन्द्रीय नेताहरु एकले अर्कोको आलोचना गरेको सुनिन्छ ।’

जागरणकै सिलसिलामा कैलालीमै रहनुभएकी केन्द्रीय सदस्य कमला पन्त भन्नुहुन्छ– ‘आम कार्यकर्ताको भावना महासमिति बैठकको निर्णय र निर्देशन केन्द्रीय समितिले अक्षरशः पालना गर्नुपर्छ भन्ने छ ।’ आम कार्यकर्ताले पहिला केन्द्रमा मिल्न सुझाव दिएको बताउँदै उहाँ नेताहरु गुटउपगुटमा विभाजित हुँदा आफूलाई अप्ठेरो परेको गुनासो कार्यकर्ताले गरेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

देशको नयाँ संरचनाअनुसार सांगठनिक संरचना नबन्दा पार्टीे संगठन कमजोर र लथालिङ्ग भएको पाइएको पन्तको निष्कर्ष छ ।

संविधानअनुसार संघीय ढाँचामा विधान संशोधन गरे पनि कांग्रेसले सांगठनिक संरचना बनाउन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको मात्र हैन यस्तो गुट गाउँ तहसम्म फैलिएको छ । यसको असर भ्रातृ संघसंगठनमा परेको देखिन्छ । शीर्ष नेताहरुको गुटगत भागवण्डा नमिलेकै कारण नेपाल तरुण दलको कार्यसमितिले पूर्णता पाएको छैन भने नेविसंघको महाधिवेशन हुन सकेको छैन ।

तरुण दलको महाधिवेशन नभएकाले भागवण्डा गरी मनोनित चार नेताको भरमा छोडिएको छ । यस्तै सबैभन्दा माथिल्लो निकाय महासमितिको निर्णय र निर्देशनलाई समेत केन्द्रीय समितिले बेवास्ता गरेकोप्रति पनि कार्यकर्ताहरु आक्रोशित भएका छन् । मुख्य गरी केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि र समानुपातिक समावेशीबाट एक व्यक्ति एकपटकभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था हटाएकोप्रति आमकार्यकर्ताले केन्द्रीय नेताहरुको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्