सुन्दरबजार क्षेत्रमा जडान गरिएको सोलार बत्तीमा अनियमितताको गन्ध



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिकाको वडानं ६ र ७ को सुन्दरबजार क्षेत्रमा नगरपालिकाको पहलमा जडान गरिएका सोलार बत्तीमा अनियमितता भएको गन्ध आएको छ ।

बजारबासीलाई समेत पैसा उठाउन लगाई २५ वर्षको वारेन्टी भन्दै जडान गरिएको सोलार बत्ती ६ महिना पनि राम्रो नबलेको सुन्दरबजारबासीको गुनासो सार्वजनिक भएसँगै त्यसको जडान कार्यमा अनियमितता भएको रहस्य खुलेको हो ।

आव २०७२÷७३ मा स्थानीय हतमा कर्मचारी राज भएको बेलामा सो कार्य गरिएबाट कर्मचारी भ्रष्टाचारमा के कति लिप्त रहेछन् भन्ने उदाहरण सो सोलार काण्ड बन्न गएको सुन्दरबजारबासीको भनाई छ ।

यतिबेला नगरपालिकाले ठेकेदारसँग गरेको सम्झौता पत्र समेत नगरपालिकामा फेला नपरेको बताइने र त्यो बेलाका कर्मचारी सबै सरुवा भएर अन्यत्र गई सकेका कारणले आफूहरू जिल्लिएको नगरवासीहरू बताउँछन् ।

तत्कालीन स्थानीय विकास मन्त्रालय अन्तर्गतको संयुक्त लगानीमा दीप लाइट इनर्जी काठमाडौंले सोलार बत्ती जडानको काम गरेको नगरबासीको भनाई छ । उनीहरूका अनुुसार ब्याट्ीको ५ बर्ष र प्यानलको २५ बर्ष वारेण्टी दिएर जडान गरिएको सोलार बत्तीहरू अधिकांश ६ महिना पनि राम्रोसँग बलेनन् ।

बिग्रदा पनि मर्मतको जिम्मा सहितको सम्झौता गरेर काम गरेको दीप लाईट इनर्जीले हालसम्म मर्मतका लागि चासो नदिएको लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजारका अध्यक्ष सोमबहादुर नेउपानेले बताउनुभयो ।

उहाँका अनुसार निकासका लागि आफ्नो पहलमा दुई पटकसम्म बैठकको आयोजना गरेँ तर उपाय निस्कने लक्षण देखिन । मेरै घर अगाडिको बत्ती नबलेको दुई वर्ष हुन लाग्यो तर मर्मतमा सकैले चासो दिएका छैनन् न्यौपाने बताउनु हुन्छ । उहाँका अनुसार गुनासो पनि कति गर्ने ? दिक्क लागेको छ तर यो मर्मत नगर्ने हो भने दोषी को हो त्यसलाई कानुनी दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ ।

यसैगरी, धेरै पटक नगरपालिका धाईयो, त्यो बेलाको ठेकेदारलाई समेत भेटियो तर काम हुने लक्षण देखिदैन सुन्दरबजारको मेन बजारमा सोलार जडान कार्यमा संयोजकको भूमिका निभाउनु भएका सुरेन्द्रलाल श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठेकेदारलाई भेटियो, तपाईलाई चिन्दिन नगरपालिकालाई भन्नोस्, उसले भन्यो भने मर्मतका लागि विचार गर्न सकिन्छ भन्यो ।’

त्यसपछि नगरपालिकामा जाँदा त्योबेलामा ठेकेदारसँग गरेको सम्झौता नै भेटिएन, ठेकेदारलाई कसरी समाउने ? त्यो बेलामा हामी पनि थिएनौं भन्ने बहाना गरी जनप्रतिनिधिहरू र कर्मचारी उम्किने गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार २०७३ सालको जेठमा उक्त सोलार जडान कार्य गरिएको हो ।

नगरपालिका उपभोक्ता समितिमार्फत ठेकेदारसँग सम्झौता भई काम भएको भन्ने र उपभोक्ताहरू समितिमार्फत होइन, त्यतिबेलाको टोल विकास संस्थालाई नगरपालिकाबाट पैसा उठाई दिन अनुरोध आयो र संस्थामार्फत पैसा उठाउने र नगरपालिकामा पैसा बुझाउने मात्र काम गरिएको हो, अन्य कुनै सम्झौता कसैसँग गरिएको छैन भन्नुहुन्छ त्यस समयका टोलविकास संस्थाका अध्यक्षहरू ।

त्यो बेलामा सुन्दरबजारको मेन बजार, फिल्म हल क्षेत्र शान्ति मार्ग, विशाल टोल, नमूना टोल, पुरानो बजारदेखि सुन्दरबजार अस्पतालसम्म कुल २८ वटा सोलार बत्ती जडान गर्ने काम भएको रहेछ । नमूना टोलमा ९ वटा, मेन बजारमा ७ वटा, पुरानो बजारमा ८ वटा र अस्पताल क्षेत्र र स्थानीय गुम्बामा २/२ वटा सोलार बत्ती जडान भएको हो ।

त्यो बेलामा गठन भएका टोल विकास संस्थामार्फत नगरवासीसँग पैसा उठाउन लगाई नगरपालिकासँग साँझेदारीमा सो काम गरेको स्थानीय बताउँछन् । नमूना टोलमा राधा श्रेष्ठ, मेन बजारमा सुरेन्द्रलाल श्रेष्ठ, पुरानो बजारमा बबी श्रेष्ठले आआफ्नो टोलमा पैसा उठाउने काम गरेको बताउनु हुन्छ । सुन्दरबजार अस्पतालले सोलार जडान गर्दा अस्पतालको पैसा खर्च नभएको तर यसमा जडान भएका दुवै बत्ती यतिबेला नबल्ने अस्पतालका प्रमुख दीपक पण्डितले बताउनु भयो ।

नमूना टोलका तत्कालीलन संयोजक राधा श्रेष्ठले प्रति घर ३६ सयका दरले पैसा उठाएर ९५ हजार नगरपालिकालाई बुझाएको बताउनु भयो । त्यो बेलामा हामीलाई एउटा बत्तीको एक लाख १५ हजार रुपैयाँ पर्छ भनियो । हामी महिला मान्छे, होला नि भनेर विश्वास गरियो, ऐले यस्तो भयो उहाँ भन्नुहुन्छ । उहाँका अनुसार यतिबेला ५ वटा बत्ती बल्दैन ।

‘तपाईहरूले नै ठेकेदारसँग सम्झौता गरी काम गर्नु भएको हो रे नि ?’ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘हैन, सम्झौता केही भएको छैन, मात्र हाम्रो संस्थाको अध्यक्ष म र सचिव सरस्वती न्यौपानेले नगरपालिकाको त्यतिबेलाका योजना अधिकृत भवानीप्रसाद पाण्डेलाई ९५ हजार बुझाएको भरपाई मात्र छ राधा श्रेष्ठ भन्नुहुन्छ । उहाँले भन्नुभयो, ‘विश्वासका आधारमा काम गरियो, यस्तो धोका हुन्छ भन्ने कल्पनै गरिएन ।’

सुरेन्द्र श्रेष्ठले आफ्नो टोलबाट एक लाख पाँच हजार रुपैयाँ नगरपालिकालाई बुझाएका हौं भन्नुहुन्छ । उहाँले भन्नुभयो, ‘त्यो बेलामा ६५ हजार मूल्यमा आउने रहेछ सोलार बत्ती, तर हामीलाई एक लाख पाँच हजार पर्छ भनिएको थियो ।

कति घोटाला गरिएको रहेछ त्यसै प्रष्ट हुन्छ नि !’ शुरूमा डई बत्ती जडान गर्ने भनिएको थियो, तर पानी फेरिराख्नु पर्ने राखिदिएको रहेछ, डई व्याट्ीको मूल्य महंगो पर्ने रहेछ उहाँले भन्नुभयो ।

उहाँका अनुसार हामी ठेकेदारकोमा जाँदा नगरपालिकालाई भन् भनियो, नगरपालिकाले सम्झौता पत्र नै भेटिदैन, हामीले बोल्ने ठाउँनै रहेन भन्ने जवाफ मेयरबाट पाएर थन्कियौं र आफैले ब्याट्ी फेर्नेकाम गरेर यतिबेला भने हाम्रो टोलको सबै बत्ती बलेका छन् सुरेन्द्रले जानकारी दिनुभयो ।

त्यस्तै, पुरानो बजारकी बबी श्रेष्ठले हाम्रो टोलको ४८ घरले प्रति घर दुई हजारका दरले पैसा उठाएर नगरपालिकालाई बुझाएका हौं हामीसँग अन्य कुनै सम्झौता छैन भन्नुभयो ।
नगरपालिकाकाका त्यतिबेलाको योजना शाखाका कर्मचारी(हाल पनि) जितु लामाले उपभोक्ता समितिमार्फत काम भएको जस्तो लाग्छ । यो सबै त्यतिबेलाका योजना अधिकृत भवानीप्रसाद पाण्डेले गर्नुभएको काम हो उहाँलाई नै थाहा छ भनेर उम्कनु भयो ।

पाण्डे सरुवा भई कालिकोट पुग्नु भएको रहेछ । उहाँसँग सम्पर्क गर्दा त्यो काम १५ प्रतिशत उपभोक्ता, ६५ प्रतिशत स्थानीय विकास मन्त्रालय र २० प्रतिशत नगरपालिकाले बेहोर गरी गरिएको हो । काम गर्दा तीन प्रति सम्झौता गरी उपभोक्ता समिति, नगरपालिका र ठेकेदार कम्पनीलाई एक एक प्रति दिएको हुँ । त्यसको सम्झौतामा नेपाल सरकारले बनाएको सौर्य सकड बत्ती जडान कार्य विधिमा सर्तहरू उल्लेख छन् ।

ती सर्तमा विभिन्न वस्तुको दुई वर्ष, पाँच वर्षदेखि २५ वर्षसम्मको वारेण्टी हुने भनिएको छ, सोही अनुसार सम्झौता भएको काम भएको पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यतिबेलाको टोल विकास संस्थानै उपभोक्ता समिति हो ।’
यस सम्बन्धमा वडानं ६ को कार्यालयमा सम्पर्क गर्दा यो वडामा ७ वटा वत्ती छन् ।

जडान गर्दा डबल प्यानल १५० पावरको राख्ने सहमति भएको तर राख्दा सिंगल प्यानल ७५ को मात्र राखिदिएको भन्ने सुनियो । बत्ती राम्रोसँग तीन महिना पनि बलेन वडाध्यक्ष रघु मिश्रले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी पछि आयौं यसै हो भन्न सक्ने अवस्था छैन ।’

त्यस्तै, वडानं ७ का अध्यक्ष जयराम रेग्मीले जनगुनासो अति आएको छ, पोल छन्, बत्ती बल्दैन, हामीले त बाटो हिड्न पनि नहुने भइसक्यो । नगरपालिकाले वत्ती संख्या कति हो भन्ने समेत भन्न नसक्नु गैर जिम्मेवारीपन हो भन्नु भयो । मेरो वडामा १५ वटा बल्दैन त्यो भन्दा बढी बल्छन् । को जिम्मेवार हो, नगरपालिकाबाट तत्काल यो समाधान खोजिन पर्छ रेग्मीले भन्नुभयो ।

यस बारेमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण पाण्डेयसँग सम्पर्क गर्दा उपभोक्ता समिति पनि जिम्मेवार हुनु पर्छ, काम गर्ने र भुक्तानी लिने मात्रमा समिति सीमित हुनुहुँदैन भन्नुभयो । तर भरखर आएको हुँदा निर्माण कम्पनीसँग सर्त सम्झौता के कस्तो छ हेर्न बाँकी छ पाण्डेयले बताउनु भयो ।

यसैगरी, नगरपालिकाका मेयर जकन मिश्रसँग सम्पर्क गर्दा अख्तियारले चासो देखाउँदा ठेकेदार पनि आएझैँ गरेको थियो, ऐले अख्तियार पनि सेलायो र ठेकेदार पनि हरायो उहाँले भन्नुभयो । ‘२५ वर्षको वारेन्टी छ रे !’ त्यसै छाड्ने त ? भन्ने जिज्ञासामा कर्मचारीको पालामा भएको कुरा त्यसका कागजपत्र केही भेटिदैन भन्छन् के गर्ने ? कर्मचारीको नियत ठीक नभएपछि के गर्नु हुन्छ ? मिश्रले प्रतिप्रश्न गर्नु भयो ।
ती सोलार बत्ती जडान गर्ने ठेकेदार कम्पनीका प्रोपाइटर सन्तोष पन्तसँग सम्पर्क गर्न खोज्दा मोवाईल अफ रहेको पाइयो ।

सडकमा सोलार बत्ती जडान गरे पश्चात् रातको समयमा अचानक हिडडुल गर्नु पर्दा सहज र सुरक्षित महशुस भएको थियो तर सोलार बत्ती बिग्रे पश्चात् असहज हुनुका साथै दिनदिनै चोरीका घट्नाहरू वृद्धि हुन थालेकोले सम्बन्धित निकायले ध्यान दिनु पर्ने लमजुङ सुनचाँदी व्यावसायी संघ एवम् लाइन्स क्लब अफ सुन्दरबजारका अध्यक्ष लालवहादुर विश्वकर्मा (अशोक)ले बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्