छात्रवृति पाउँदा उत्साहित



हिक्मत नेपालीे, दैलेख ।
कापी कलमको जोहो गर्न दैलेख सदरमुकाम भित्रिने मालवाहक सवारीबाट सामान लोडअनलोड गर्दै आएका बेला छात्रवृति पाउँदा दैलेख नमुना बादी बस्तीका दलित परिवारका सुजन वादीको खुशीको सीमानै छैन् ।

बाल मन्दिर प्राविबाट कक्षा पाँचबाट प्रथम भएका सुजनलाई पढाई खर्च जोहो गर्न सधै समस्या पथ्र्यो । घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाईमा समस्या आउने होकी भन्ने चिन्ताले सधै सताइरहेको थियो । तर केन्द्रिय बाल कल्याण समितिको सहयोगमा सोसेकद्धारा संचालित बाल हेल्पलाइन १०९८ ले बर्षभरी पुग्ने शैक्षिक सामग्री प्रदान गरेपछि भने सुजन खुशीले गद्गद् छन् ।

‘मेरो घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ, पढाई खर्च जुटाउन मालवाहक सवारीबाट सामान लोडअनलोड गर्थे, छात्रवृति पाएपछि उत्साहि हुँदै सुजनले भने ‘यो छात्रवृत्ति पाएपछि झन् पढ्न मन लागेको छ, पढ्ने हौसला बढेको छ ।’ सुजन मात्र होइन, कक्षा ६ मा अध्ययन गर्दै गरेका करन बादीलाई पनि पढ्ने जाँगर चलेको छ । उनिजस्तै ९ बर्षिया भुवन बादीले छात्रवृति सहयोग पाएपछि खुशी हुँदै भने ‘अब पढाईमा सहयोग पुग्नेछ ।’

सुजन, करन र भुवन जस्तै नारायण नगरपालिका–१ नमुना बादी बस्तीका विपन्न बादी परिवारका ३४ जना बिद्यार्थीलाई छात्रवृति सहयोग गरिएको हो । बाल हेल्पलाइन १०९८ संंयोजक रमा श्रेष्ठका अनुसार बादी परिवारका जोखिममा रहेका बालबालिकालाई छात्रवृति सहयोग गरिएको हो । उनिहरुलाई विद्यालय पोषाक, झोला, कापी कलम लगाएतका शैक्षिक सामग्री प्रदान गरिएको उहाँको भनाई छ ।

छात्रवृति वितरण गर्नुहुँदै नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले छात्रवृति प्रदानसँगै बिद्यार्थीको पढाईमा सुनिश्चित भएको बताइन् । छात्रवृति प्रदान गरेर विपन्न विद्यार्थीलाई पढाईमा आकर्षित गर्नु आफैमा सकारात्मक काम भएको उनको भनाई छ ।

जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीले विपन्न बालबालिकाको शिक्षामा विशेष जोड दिन स्थानीय तहलाई आग्रह गरे । उक्त बस्तीमा विगत आठ महिना देखि बाल चौतारी समेत संचालित छ ।

प्रतिक्रिया दिनुहोस्