अन्नपूर्ण म्याराथन जुन ३ मा



काठमाडौँ, (नेस)
अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा जुन ३ मा दोस्रो पटक अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ।
पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर प्रत्येक वर्ष जुन ३ मा म्याराथन गर्ने आयोजकले जनाएको छ। सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरेजक र लुइस लाछनले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका थिए। गत वर्ष भएको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए।

४२।१९५ किलोमीटरको म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई कास्कीको अन्नपूर्ण नगरपालिकास्थित घान्द्रुकमा पुगेर समापन हुनेछ। आधार शिविर रहेको स्थान झण्डै ४१ सय ३० मिटरको उचाईमा छ र दौड त्यहाँबाट सुरु हुनेछ। म्याराथनमा सहभागी हुने नेपाली खेलाडीले १ हजार रूपैयां र विदेशी खेलाडीले ३ सय ५० अमेरिकी डलर तिर्नुपर्ने आयोजकले जनाएको छ।
म्याराथनको विजेताले नगद १ लाख ५ हजार हात पार्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ र ५५ हजार पाउनेछन्। यस्तै चौथो देखि दशौँ हुनेले क्रमशः ११ हजार, १० हजार, ९ हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्