५ वर्षमा चन्द्रमामा फर्कने नासाको योजना



वासिङ्टन, (एजेन्सी)
चन्द्रमामा सन् २०२४ सम्ममा पुनः मानव अवतरणका लागि नासाले ११ कम्पनीलाई चयन गरेको छ। अन्तरिक्ष यात्रीका रूपमा महिला पनि हुन सक्ने नासाले यसअधि नै जनाएको थियो।
यस अभियानका लागि आवश्यक उपकरणको डिजाइन गर्न आगामी ६ महिनामा एयरोस्पेस इन्जिनियरिङका ११ कम्पनीमध्ये कुनै एकलाई चयन गरिनेछ। यस अभियानअन्तर्गत नासाको योजना अन्तरिक्ष स्टेसनको संंरचना तथा क्याप्सुल बनाउनु रहेको छ। यसले गेटवेका रूपमा काम गर्नेछ र चन्द्रमाको सतहमा अवतरणका लागि स्थान खोज्ने छ।

आगामी केही वर्षमा चन्द्रमाको तल्लो कक्षमा प्रक्षेपण हुने क्याप्सुलको निर्माण कार्य शुरू हुनेछ। नासाद्वारा चयन गरिएका कम्पनीहरूको प्रमुख ध्यान भनेको आर्टमिस अभियानका लागि तीन फरक प्रकारको उपकरण विकास गर्नुमा केन्द्रित हुनेछ। यसमा अन्तरिक्ष यात्रीलाई चन्द्रमासम्म लिएर जाने र त्यहाँबाट फिर्ता पनि आउने क्याप्सुल पनि हुनेछ।

नासाको मुख्यालयमा चन्द्रमामा मानव अन्वेषण कार्यक्रमका निर्देशक मार्सल स्मिथले भने– ‘चन्द्रमामा फर्कने अभियानलाई हामीले गति दिइरहेका छौं। यसमा हामीले आफ्ना परम्परागत तरिकाबाट गरिने कामलाई पनि चुनौती दिएका छौं।

हामी हार्डवेयरको विकास र त्यसको सञ्चालनमा साझेदारीलाई व्यवस्थित गर्नेछौं। हाम्रो टोली जतिसक्दो चाँडो पुनः चन्द्रमामा अवतरणका लागि लालायित छ।’ पब्लिक÷पाइवेट साझेदारीको यो टोलीले चन्द्रमाको सतहमा मानव पाइला अवतरण गराउने प्रणालीको पनि अध्ययन गरिरहेको छ।

कम्पनीहरूले चन्द्रमा पठाइने रकेटको नमुना पनि बनाइसकेका छन्। तीमध्ये एक रकेटको मूल्य ४ करोड डलर छ। प्रत्यक कम्पनीले कुल लागतको कम्तीमा २० प्रतिशत कोष आफैंले लगानी गर्नुपर्नेछ।
यस प्रावधानले भविष्यमा चन्द्रमा यात्राको लागतमा कमी हुने र त्यसले करदातामाथि बोझ कम पर्ने नासाले अपेक्षा गरेको छ। चन्द्रमा यात्रा अभियानमा नासाको चयनमा परेका कम्पनीमा इरयोजेट रकेटडाइन, ब्लु ओरियन, स्पेसएक्स, बाइङ, डायनेस्टिक, लकहिड मार्टिन, मास्टेन स्पेस सिस्टम्स, नोथ्रोप ग्रुमन इनोवेसन सिस्टम्स, अर्बिट वियोन्ड, सियरा नेवाडा कर्पोरेसन र एसएसएल हुन्।

प्रतिक्रिया दिनुहोस्