राजधानीको सुरक्षा चिन्ता



राजधानीलाई सुरक्षित बनाउन संघीय सरकार मात्र होइन, स्थानीय सरकारसमेत लागिपरेको समाचार सार्वजनिक भएको छ । राजधानीलाई सुरक्षित बनाउन काठमाडौं महानगरपालिकाले ५ सय ६९ स्थानमा सीसीटिभी क्यामरा जडान गर्न लागेको छ । सुरक्षित भविष्य खोज्दै राजधानी भित्रिने नेपाली असुरक्षित बन्न थालेपछि अहिलेको संरचनालाई अझै मझबुत बनाउन स्थानीय सरकारले प्रविधिको माध्यमबाट राजधानीलाई सुरक्षित बनाउने विगतको प्रयासलाई बृहत् रूपमा कार्यान्वयनमा ल्याउन लागेको छ । यसले राष्ट्रियरूपमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत राजधानी काठमाडौं सुरक्षित छ भन्ने विश्वास दिलाउन मदत गर्ने अपेक्षा गरिएको छ ।

अबको दुई महिनाभित्र राजधानीका सबै चोक सीसीटिभी क्यामराको निगरानीमा रहने भएका छन् । नेपाल प्रहरी र महानगरपालिकाबीच भएको तीन महिना लामो छलफलपछि ती स्थानमा सीसीटिभी जडानको कामले तीव्रता पाउन लागेको हो । चोकचोकमा रहने सुरक्षा निकायले मात्रै सुरक्षा प्रदान गर्दा अपराध मनोवृत्ति भएका व्यक्तिले सुरक्षा निकायको आँखा छलेर अपराध गर्ने भएकाले प्रविधिको प्रयोगपछि त्यस्ता तŒव हतोत्साही हुने आकलन गरिएको छ । सुरक्षाको हिसाबले संसारभर अहिले आधुनिक प्रविधिको प्रयोग गरेर अपराधलाई न्यूनीकरण गरिएको भए पनि नेपालमा भने यस्ता प्रविधिको प्रयोग निकै पछिबाट प्रयोगमा ल्याइएको पाइन्छ । तर अहिले सरकारले सुरक्षित राजधानीको अवधारणा अघि सारेपछि प्रविधिको प्रयोगलाई तीव्रता दिन थालिएको छ । यसलाई निरन्तरता भने दिनु पर्दछ ।

नेपालमा कुनै पनि काम गर्दा तामझामका साथ शुरू गर्ने तर त्यसलाई निरन्तरता भने नदिने पुरानो रोगका रूपमा रहेको छ । राजधानीका मुख्यमुख्य चोकमा रहेका कतिपय सीसीटिभी लामो समयसम्म मर्मत नहुँदा ती सीसीटिभीले काम गर्न सकेका छैनन् । पुरानालाई मर्मत गर्ने र नयाँं स्थानमा सीसीटिभी जडान गर्दा मर्मत गर्ने काम पनि जसले जडानको काम गरेको हो त्यही कम्पनीलाई दिनु उचित देखिन्छ । प्रहरीसँग प्रविधिलाई प्रयोग गर्न सक्ने जनशक्तिसमेत कम रहेकाले प्रविधिको विकाससँगै जनशक्ति पनि त्यही अनुपातमा उत्पादन गर्नेतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ । अन्य मुलुकमा दशकौंको गुरुयोजना बनाएर काम गर्ने परम्परा रहेको छ तर हामीकहाँ भने हतार हतारमा निर्णय गर्ने र तत्कालै कार्यान्वयनमा ल्याउने परम्परा रहेको छ । हतारमा काम गरेर पछुताउने बानीलाई समयमा नै सुधार गर्न सकेनौं भने त्यसले मुलुकलाई समृद्धितर्फ होइन, अधोगतितर्फ नलैजाला भन्न सकिन्न । यसतर्फ ध्यान जान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्