‘स्मारकलाई देशकै प्रमुख गन्तव्यस्थल बनाउँछौं’



मणिराम गेलाल
महानिर्देशक
शहरी विकास तथा भवन निर्माण विभाग
गणतन्त्र स्थापना भएको प्रतीकका रूपमा ऐतिहासिक पक्ष झल्काउने विषयवस्तु समावेश गरेर गणतन्त्र स्मारक सञ्चालनमा ल्याउन लागेका छौं। स्मारक सञ्चालनमा आएपछि देशका साथै विदेशका राष्ट्रप्रमुख जाने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेका छौं।

गणतन्त्र प्राप्तिका लागि थालनी भएको आन्दोलनदेखि गणतन्त्र स्थापनाकालसम्मको इतिहास संरक्षण गर्न स्मारकको निर्माण गरिएको हो। गणतन्त्र स्मारकमा राखिने विभिन्न सामग्रीमध्ये गणतन्त्र स्थापनासँग सम्बन्धित जनआन्दोलनलगायत घटना परिघटना समेटिएका फोटोहरू, आर्ट एवं चित्र र मूर्ति, पोसाक, किताब, कागतजातजस्ता महŒवपूर्ण दस्ताबेज संकलन गरेर स्मारकभित्र राख्न नेपाल कला परिषद्सँग सहमति गरिएको छ।

भ्रमण र अध्ययनका लागि आउने सर्वसाधारण, विद्यार्थीका साथै विदेशी पर्यटकसमक्ष नेपालमा गणतन्त्र प्राप्तिको चित्र र संघर्षलाई भावनात्मक रूपमा देखाउने एवं बुझाउने स्मारकको मूल लक्ष्य हुनेछ। एकै पटकमा सय जनाभन्दा बढीले स्मारक भ्रमण गर्न सक्नेछन्। स्मारक अवलोकन गर्न आउनेलाई गणतन्त्र स्थापनका लागि भएको संघर्षको ऐतिहासिक पक्षलाई वृत्तचित्रमार्फत जानकारी गराइनेछ।

प्रतिक्रिया दिनुहोस्