आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा २४औँ पटक सगरमाथामा



बुद्धवीर बाहिङ राई, आधारशिविर ।
नेपाली आरोही कामिरिता शेर्पाले आफ्नै कीर्तिमानलाई तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण छन् । शेर्पाले मंगलबार विहान ६ बजेर ३८ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

“मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा नेपाली आरोही कामिरिता शेर्पाले सगरमाथा आरोहण गरेका छन्न,” आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने । सोलुखुम्बुको थामे गाउँमा स्थायी बसोबास गरिरहेका ४९ वर्षीय शेर्पाले आफ्नै नाममा रहेको सबैभन्दा बढि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कीर्तिमानमा नयाँ कीर्तिमान कायम गरेका हुन् ।

सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोहीको सूचीमा दोस्रो स्थानमा रहेका आरोहीहरूभन्दा उनले तीन आरोहण बढी चढेका छन् । दोस्रो स्थानमा रहेकाहरूमध्ये पर्वतारोहणमा सक्रिय ङिमानुरु शेर्पा तिब्बततर्फबाट २२ औँ आरोहणका लागि शिखरतर्फ लागेका छन् ।

सगरमाथाको २३ औँ पटक सफलतापूर्वक आरोहण गरेर आधारशिविर फर्केपछि आरोहण टोलीका सदस्य सहित विश्वको सर्वोच्च शिखर सगरमाथा तर्फ लागेका थिए । शेर्पाको आरोहण व्यवस्थापन सेभेन समिट ट्रेक्स एण्ड एक्सपीडिशनले गरेको छ । आरोही शेर्पाले भारतीय प्रहरी टोलीको नेतृत्व गर्दै शनिवार सगरमाथा आरोहणका लागि शिखरतर्फ लागेका थिए । कामिरिताले यसअघि मे १५ अर्थात जेठ १ गते विहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३ औँ पटक आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका थिए ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् । शेर्पाले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले तीन आरोहण याममा दुई÷दुई पटक सगरमाथा चढिसकेका थिए ।
उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पाएकाले पनि सन् २००९, २०१० र २०१३ को वसन्त ऋतुको एकै याममा दुई पटक सगरमाथा चढेका थिए । सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए । तर आधारशिविर नझरिकन नै चौथो शिविरबाटै पुनः सगरमाथा चढेकाले त्यसले छुट्टै आरोहणको मान्यता पाएन ।

कामीरितालाई पछ्याउँदै अन्य नेपाली आरोहीहरुको विवरण:
कामिरिता शेर्पा २४
ङिमानुरु शेर्पा २१
आप्पा शेर्पा २१
फुर्वाटासी शेर्पा २१
आङदोर्जी शेर्पा १९
छेवाङङिमा शेपार् १९
मिङ्माछिरी शेर्पा १९
लाक्पारिता शेपार् १७
कामिरिता शेर्पा १६
निमा गोम्बु शेर्पा १६

प्रतिक्रिया दिनुहोस्