ठोरीवासीले गरे भारतबाट किनमेल बन्द



कृष्णउदास खनाल, वीरगन्ज ।
छिमेकी देश भारतसँग सीमा जोडिएको पर्साको सुदूरपश्चिम ठोरी गाउँपालिका बासिन्दाले सोमबार देखि सीमावर्ती भारतीय बजार भिखनाठोरीमा किनमेल गर्न बन्द गरेका छन् ।

किनमेल गर्न भारतीय बजारमा गएका ठोरीबासीलाई गएको विहीबार कुटपिट गर्ने भारतीय युवकलाई भारतीय प्रहरीले हालसम्म पक्राउ नगरेको गुनासो गर्दै बजार बहिष्कार गरेका हुन् ।नेपालीलाई कुटपिट गर्ने भारतीय युवकलाई पक्राउ गरी कारवाही नगरेसम्म ठोरीबासी आक्रोशित हुँदै सीमावर्ती बजारलाई बहिष्कार गरेको स्थानीय रामशरण लामिछानेले जानकारी दिनुभयो  ।

बिहीबार साँझ भिखनाठोरीमा छ जनाजति ठोरीबासीलाई भारतीयले कुटपिट गरेका थिए ।ठोरी १ टाउनका विष्णु बिष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएपछि उनलाई शुक्रबार उपचारार्थ नारायणघाट पठाइएको छ । भारतीयले ठोरी इच्छानगरका १२र१३ बर्ष उमेर समूहका ३ बालिका, सुन्दरवस्तीका अन्य २ जनालाई समेत कुटपिट गरेका थिए ।

स्थानीय प्रकाश खनालले बिहीबार भारतीय बजार भिखना ठोरीमा हाट बजार लाग्ने गरेको र त्यसदिन धेरै नेपाली किनमेलका लागि त्यहा पुग्ने गरेकाले धेरै नेपाली कुटिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदार पन्तले बिहीबार भारतीय नागरिक रवि साहले ठोरीको वनशक्ति मन्दिर नजिक आएर स्थानीय एक वृद्धा महिलालाई अपशब्द प्रयोग गरी जबर्जस्ती उनको बारीको बाटो भएर केही भारतीयलाई नजिकको झोलुङ्गे पुलतर्फ पठाउन खोजेपछि विवाद भएको थियो  ।

मादक पदार्थ सेवन गरेका रवीले जग्गा धनी ती वृद्धालाई तथानाम भनेर हप्कीदप्की गरिरहेको देखेका चितवन माडी बसन्तपुर ३ का युवा सूर्य भन्ने ३३ बर्षिय ओम बहादुर गुरुङले साहलाई दुई थप्पड हिर्काएका थिए ।

सुभद्रा थानाका सव इन्सपेक्टर धनन्जय कुमारले साहलाई अविलम्ब पक्राउ गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । सोमबार नेपालीले भारतीय बजार बहिष्कार गरेको कुरोको जानकारी आफूले सोमबार नै भिखना ठोरीका भारतीय सुरक्षा फौज एसएसबीका प्रमुख मनभिन्दर सिंहलाई समेत जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय ठोलीका प्रनि केदारराज पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्