नगरपालिकाद्वारा १५ लाख बढि राजस्व संकलन



नेपाल समाचारपत्र
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले गत आवको तुलनामा चालु आवमा १५ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत बैशाख मसान्तसम्ममा नगरपालिकाले ५८ लाख रुपैयाँ संकलन गरेको हो ।

नगरपालिकाले चालु आवको बैशाख मसान्तको अवधिमा ५८ लाख २९ हजार ४५ रुपैयाँ संकलन भएको नगरपालिकाको राजस्व शाखाका प्रमुख युवराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार सो रकम गत बैशाख मसान्तसम्म संकलन भएको हो । चालु आवमा राजस्व संकलन गर्ने लक्ष्य नगरपालिकाले ८० लाख प्रक्षेपण गरेको छ । बैशाख मसान्तको अवधिमा ७२.८६ प्रतिशत प्रगति भएको सुवेदीको भनाई छ ।

उहाँका अनुसार एकीकृत सम्पत्तीकरतर्फ २९ लाख पाँच हजार आठ सय ७४ र विविध नगदीतर्फ २९ हजार २३ हजार एक सय ७१ रुपैयाँ रहेको संकलन भएको छ ।

उक्त नगरपालिकाको गत आवको राजस्व संकलन लक्ष्य ७१ लाख ६० हजार रहेको थियो । जसमा ६७ लाख ६ हजार नौ सय ७४ संकलन भई ९३.७४ प्रतिशत प्रगति हासिल भएको नगरपालिकाका मेयर जनक मिश्रले बताउनुभयो । उहाँका अनुसार गत आवको तुलनामा चालु आवमा ९ लाख ४० हजार रुपैयाँ थप राजस्व संकलन लक्ष्य राखिएको छ, हामी चालु आवमा राजस्व संकलनको लक्ष्य हासिल गर्न सक्छौं भन्ने विश्वासमा छौं ।

प्रतिक्रिया दिनुहोस्